Thursday 5 Ashwin, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

नयाँ हैन, पृथक शक्ति

  • मङ्गलबार १८ फागुन, २०७२
  • पुकार बम/मिलन पाण्डे
  • Be the first to comment!
(0 votes)
२१ औँ शताब्दीको राजनीति अरुको दोष देखाएर र अरुलाई गाली गरेर मात्रै सफल हुनेवाला छैन। न त खुट्टा तान्ने, नेपाल बन्द गर्ने, गुण्डा लगाउने, भ्रष्टाचारीलाई बचाउने तरिकाले नै अबको राजनीति अघि बढ्नेछ । अबको राजनीतिमा त नवीनता जरुरी छ जसले राजनीति गर्ने शैली नै बदल्न सकोस्।
nepali-patro-june
समयसापेक्षरूपमा आफ्नो कार्यशैलीमा पृथकता ल्याउन सक्ने हैसियत राखोस् । बोलाइभन्दा गराइमा आफ्नो उत्कृष्टता झल्काउन सकोस् । त्यसैले नेपालमा नयाँ होइन, पृथक शक्तिको खाँचो छ किनकि पृथक शक्तिले नै नेपाली राजनीतिमा आधारभूत परिवर्तन अर्थात 'प्याराडिम् सिफ्ट' गर्न सक्छ । अब राजनीतिमा पुरानो सोच अर्थात शक्तिमा पुग्ने अनि राजमात्रै गर्ने नियत बदल्न जरुरी छ, त्यो नियत पृथक शक्तिले बदल्नुपर्छ ।

नेपालको राजनीतिक इतिहास हेर्ने हो भने लगभग १० वर्षमा एउटा नयाँ शक्ति उदाएको छ जसले सुरुमा केही आशा अनि शक्तिमा आएपछि मात्र निराशा दिएको छ । त्यसको मुख्य कारण हो– शक्ति सम्हाल्न नसक्नु । शक्ति सम्हाल्न नसक्नुको मुख्य कारण हो– शक्तिमा पुग्ने शैली । त्यसैले अब नयाँ हैन, शैली नै पृथक भएको शक्ति चाहिन्छ जसले काम गर्ने, सोच्ने अनि सत्तामुखीभन्दा पनि नागरिक हितमुखी शैली अँगाल्नेछ जो वाचाभन्दा काममा अनि भाषणभन्दा व्यवहारमा केन्द्रित हुनेछ ।

सैद्धान्तिक रूपमै पृथक

राजनीतिक सिद्धान्तमा ३ वटा पाटा हुन्छन्– व्यक्ति, समाज अनि राज्य । यिनै ३ पाटामध्ये कसलाई प्रधान राख्ने भन्ने सिद्धान्तकै अनुसार वाद वा पथ सिर्जना हुने गरेको छ । संसारभरका सयौं वाद यही ३ पाटाको सन्तुलनको उपज हो । पथ वा वाद समाज अनि समयअनुसार निर्धारण हुने गर्छ । हाम्रो राजनीतिक शक्ति सफल हुन नसक्नु उनीहरुले अँगालेको वाद, लिएको मार्गका कारण हो । हाम्रा कतिपय राजनीतिक शक्ति त्यस्तो वाद बोकेर हिंड्दैछन् जुन कुनै समय, कुनै परिवेशमा कुनै अर्कै समाजका निम्ति प्रतिपादन गरिएको थियो जसलाई हाम्रो परिवेशमा यो समयमा अंगाल्न सकिँदैन, व्यावहारिक छैन । त्यसैले अब पृथक शक्तिले त्यस्तो सिद्धान्त बोक्नुपर्छ जसलाई व्यवहारमा उतार्न सकियोस् । अनि त्यो सिद्धान्तले व्यक्ति, समाज तथा राज्यको भूमिकालाई सन्तुलित राख्न सकोस् । त्यसैले पृथक शक्ति मध्यमार्गी हुनेछ जुन समयअनुकूल आफूलाई परिवर्तन गर्ने हैसियत राख्नेछ जुन विद्रोहमा होइन, समयसापेक्ष सुधार मार्गमा हिँड्नेछ ।

जरैदेखि पृथक

यदि राजनीतिलाई फराकिलो आँखाले हेर्ने हो भने राजनीतिक शक्तिलाई २ वटा तप्काले सञ्चालन गर्छन्– कार्यकर्ता अनि नेतृत्व । अहिलेसम्मका राजनीतिक दलको इतिहास अध्ययन गर्ने हो भने ती दललाई असफल बनाउन यी दुवै तप्काको उत्तिकै हात छ । कार्यकर्ता जिम्मेवार भएनन् साथै नेतृत्व पनि जवाफदेही हुन सकेनन् । दुवै आआफ्ना सीमित स्वार्थमा रुमलिइरहे । कोही पनि निजी स्वार्थभन्दा माथि उठ्न सकेनन् । फलस्वरूप दल सफल हुन सकेनन् । हामी जुन राजनीतिक संरचनाको अभ्यास गर्दैछौँ, त्योअनुरूप जबसम्म दल सफल हुँदैन तबसम्म देश सफल हुन सक्दैन । अहिले राजनीतिक वृत्तमा जुन तरिकाले नयाँ शक्तिका रूपमा नयाँ पार्टी उदाउँदैछन् त्यसले फेरि त्यही शैली देखाउँदैछन् जुन फेरि पनि त्यहीँ चक्रीय प्रणालीद्वारा असफलताको बाटोमा हिँड्ने प्रायः निश्चित छ । त्यसैले हामीले भन्दै गरेको पृथक शक्तिको प्रमुख कार्य नै जिम्मेवार नागरिक अनि जवाफदेही नेतृत्व हुनुपर्नेछ जुन आफँैमा एउटा सिक्काका दुई पाटा हुन् ।

नयाँ पृथक शक्ति चाहियो भनिरहँदा पुराना किन असफल भए भन्ने मनन गर्न आवश्यक छ । पुराना पार्टीहरु असफल हुनाका प्रमुख कारण सत्तामा पुग्नका लागि अपनाइएको शैली, व्यक्तिकेन्द्रित पार्टी संरचना, सिद्धान्तअनुरूप व्यवहारमा एकरूपता नहुनु, अपारदर्शिता, नेतृत्व परिवर्तनको सुनिश्चितता नहुनु आदि नै हुन् । पृथक शक्तिले यी कुरालाई ध्यानमा राखेर आफ्नो संरचना अनि शैलीमा यस्ता पक्ष आउन दिनुहँुदैन ।

पृथक शक्तिको जग

अहिले राजनीतिको परिभाषा नै गलत बुझ्न थालिएको छ । अहिलेको बुझाइअनुसार राजनीतिलाई सत्ता अनि शक्तिसँग मात्रै हेरिन्छ । तर राजनीति भनेको त समाजको हित गर्ने नीति र व्यवहार हो । राजनीति त राष्ट्र सेवा र समाज सेवाको उच्चतम विन्दु हो । त्यसैले पृथक शक्तिले राजनीतिको साँचो परिभाषा स्थापित गर्न सक्नुपर्छ । हाल विद्यमान परिभाषा बदल्ने सामथ्र्य राख्नुपर्छ । राजनीतिको साँचो परिभाषा स्थापित गर्न पृथक शक्तिका ४ आधार हुनेछन् ः

१) विवेकशील नागरिक ः राजनीति 'म' बाट सुरु हुन्छ । यदि मैले सीमित स्वार्थका निम्ति अक्षम नेतृत्व चुनेँ भने त्यो अक्षम नेतृत्वले भ्रष्ट समाज बनाउँछ । जब समाज भ्रष्ट हुन्छ तब देशमा विकास हुन सक्दैन । अनि त्यो अविकसित देशको चपेटामा 'म' आफैँ फस्छु । हाम्रा कैयौँ पुस्ता फस्छन् । अहिले हाम्रो परिवेशमा भएकै यही हो । अब पृथक शक्तिको जोड 'म' लाई विवेकशील बनाउने हुनुपर्छ । 'म' लाई आफ्नो क्षणिक स्वार्थभन्दा माथि उठेर सक्षम नेतृत्व चुन्न सक्ने बनाउने हुनुपर्छ अनि त्यही सक्षम नेतृत्वले स्वच्छ समाज बनाउनेछ । जब समाज भ्रष्ट हुँदैन तब मुलुक विकसित हुन्छ र त्यो विकसित मुलुकबाट लाभ पाउने 'म' आफैँ भन्ने उद्देश्यले आमनागरिक सकारात्मकरूपमा राष्ट्रिय राजनीतिमा योगदान गर्ने गरी सरिक हुनैपर्छ ।

२) उद्यमशील समाज ः पृथक शक्तिले समाजलाई उद्यमशील बनाउनेतर्फ अघि बढाउनुपर्छ । राजनीतिका अरु दुई पाटा पनि हुनुपर्छ– सामाजिक अनि आर्थिक जहाँ हाम्रो विद्यमान राजनीति कहिल्यै प्रवेश गरेन । पस्दा पनि आफ्नो स्वार्थ पूर्तिका लागि राजनीति गर्नमात्रै पस्यो । अबको पृथक शक्तिले राजनीतिका यी दुई पाटालाई समेत अघि बढाउनुपर्छ । नेतृत्व अनि कार्यकर्ता कसैले पनि राजनीतिलाई पेसाका रूपमा लिनुहँुदैन । राजनीतिक दलको भूमिका समाजलाई उद्यमशील बनाउनेतिर हुनुपर्छ तबमात्र रुढीग्रस्त समाज वैज्ञानिक हुन् थाल्छ । विचलित समाज आशावादी र एकीकृत हुन्छ किनकि त्यहाँ सिर्जना र समृद्धि आउँछ ।

३) सेवक सरकार ः सरकारको भूमिका सधैँ आफ्ना नागरिकलाई सेवा दिने हो तर आजको हाम्रो राजनीतिक पद्धती जुन हाम्रा राजनीतिक पार्टीले चलाइरहेका छन् त्यो पद्धतीले जनतालाई दुःख दिइरहेका छन् । सरकारमा सेवाको भावना छैन । आफूले आमनागरिकलाई कसरी सेवा दिन सकिन्छ भन्दा पनि बरु आफू कसरी नागरिकबाट लिन सकिन्छ भन्ने आशय भेटिन्छ चाहे राजनीतिक तन्त्रमा होस् वा राजनीतिको हालीमुहाली रहेको कर्मचारीतन्त्रमा । अबको पृथक शक्तिले सरकारलाई सेवक बन्न दबाब दिनुपर्छ अनि आफू सरकारमा पुग्दा आमनागरिकलाई कसरी त्यसको प्रत्याभूति गराउन सकिन्छ भनेर तयार रहनुपर्छ ।

४) हितकारी राज्य ः यो पुरै नयाँ युग हो । यहाँ राज्यको भूमिका पनि पृथक हुन जरुरी छ । त्यसैले हामीले देखेको राज्य नागरिकको हितमा सदैव केन्द्रित हुनुपर्छ । राज्यले आफ्ना नागरिकलाई आत्मनिर्भर हुन वातावरण मिलाउने संरचनालाई नै हामीले हितकारी राज्य भनेका छौँ । २१ औँ शताब्दीको यो आधुनिक युगमा फ्रेन्ड्ली राज्य बिल्कुलै पृथक र आवश्यक अवधारण हो । यस्तो राज्यले आवश्यकता हेरेरमात्र आफ्नो भूमिका निर्वाह गर्छ अन्यथा व्यक्ति र समाजलाई नै सवल बनाउन पूर्ण भूमिका निर्वाह गर्छ ।

सिद्धान्तसँगै मूल्य/मान्यता

सबै कुरा हुदाँहुँदै पनि पृथक शक्तिलाई आफ्नो बाटो नबिराउन अनि आफ्नो गन्तव्यमा सकुशल पुग्न अर्को थप कुरा आवश्यक पर्छ । राम्राराम्रा वाद, सिद्धान्त हुँदाहुँदै पनि हाम्रा पार्टी किन असफल भए भनेर अध्ययन गर्यौँ भने उनीहरु जुन बाटोमा हिडेँ, त्यो बाटोमा हिँड्दा उनीहरुलाई डोर्याउने केही भएन । त्यसैले पृथक शक्तिमा सिद्धान्त सँगसँगै मूल्य÷मान्यता पनि चाहिन्छ जसले पार्टी, नेतृत्व अनि सदस्यलाई विचलित नभई गन्तव्यमा पुर्याउनेछ । त्यस्तो मूल्य/मान्यता जसले पार्टी, नेतृत्वसँगै आमसमर्थकलाई पनि आफ्नो लक्ष्य अनि मार्गबाट विचलित हुनबाट रोक्दै आफैँलाई मूल्यांकन गरिरहनेछ । हामीले पहिल्याएको अनि हिँड्दै गरेका मूल्य/मान्यता निष्ठा, पारदर्शिता, उत्कृष्टता, साहस, विनम्रता र समानुभूति हुन् जसले हामीलाई सधैँ हाम्रो लक्ष्य प्राप्तिमा मार्गनिर्देश गरिरहन्छ । अब राजनीति चित्रले हैन चरित्रले चल्नेछ । अबको राजनीतिमा तर्कको होइन तरिकाको मूल्यांकन हुनेछ अनि अबको राजनीति नयाँमात्रै हैन, पृथक हुन पनि जरुरी छ ।

बम कार्यपालिका प्रमुख, पाण्डे केन्द्रीय व्यवस्थापिका सदस्य– विवेकशील नेपाली दल

प्रतिक्रिया