×

Warning

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

Error loading library: joomla, Library not found

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Friday 15 Baishak, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

वनझाँक्रीहरूको देश

(0 votes)
अन्धविश्वास बलियो भएको समाजमा अधिकांश व्यक्ति विवेकका अन्धा हुन्छन्। तिनले छोराछोरीलाई पनि अन्धा बनाउँछन्। बाबुआमाबाट बचेका बालबालिकालाई छिमेक र समाजले अन्धा बनाउँछन्। तिनीहरूबाट पनि बचेकालाई शिक्षकले अन्धा बनाउँछन्। शिक्षकबाट पनि बचेकालाई मिडियाले अन्धा बनाउँछन्। यसरी अज्ञान र अन्धविश्वासको सत्ता अजर, अमर हुन्छ।
अभय श्रेष्ठ

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june

झाँक्रीहरूको सत्ता
सिंहदरबार र प्रशासनिक केन्द्रहरूलाई हेर्ने हो भने देश नेताहरूले चलाएका छन्। तर, असली देश जनजीवन शैली, संस्कृति, मानसिकता र सामाजिक चालचालन हो। त्यहाँ जताततै नेताको होइन, वनझाँक्रीहरूको स्वच्छन्द सत्ता छ। यसरी हेर्ने हो भने पूरै देश वनझाँक्रीहरूले चलाएका छन्। नत्र बोक्सी प्रथाका नाममा मान्छेको ज्यानै लिने, गाउँ निकाला गर्ने, दिशा खुवाउने र अंगभंग गर्ने गतिविधि यतिविधि हुने थिएनन्। मान्छेका यी अमानवीय कृत्य देख्दा लाज स्वयं लजाउन थालेको धेरै भइसक्यो।
गएको बिहीबार पर्साको सुपौली गाविसमा यस्तै भयो। 'बोक्सी' को आरोप लगाई आततायीहरूले पार्वती चौधरी नामकी प्रौढलाई कुटेरै मारिदिए। छिमेकी जगदीश चौधरीकी छोरी प्रतिमालाई भेदन गरेको आरोप उनीमाथि लगाइएको थियो। जगदीश टाढाका मान्छे वा कुनै शत्रुपक्षका व्यक्ति नभई पार्वतीका देवर थिए। उनका श्रीमान् भगवान चौधरी र जगदीश काकाबा–ठूलाबाका छोरा थिए। प्रतिमालाई बिसन्चो भयो। झाँक्री लगाउँदा उसले आफ्नो अवचेतन मनमा दोषी ठहरिएकी पार्वतीको नाम पोली। गाउँमा पञ्चैती बस्यो। भेलाले पार्वतीलाई गाउँ निकालाको सजाय सुनायो। भगवानले गह्रौँ मन गरी अबेर साँझ यो खबर पत्नीलाई सुनाए र उनीसँगै गाउँ निकाला हुन तयार भए। श्रीमान्ले यस्ता झुटा आरोपको प्रतिकार नगरेकामा पार्वतीले प्रतिवाद गरिन्। उता, पञ्चैतीको निर्णयसमेत उल्लंघन गर्दै जगदीशका आफन्तले राति नै अपहरण शैलीमा पार्वतीलाई लिएर गए। बाटामा तिनले अनेक अनर्गल प्रश्न सोधे। पार्वतीले प्रतिवाद गरिन्। बातैपिच्छे हत्याराहरूले ठाउँकुठाउँ कुटे र पार्वतीको ज्यान लिए।
नेपाल र भारतजस्ता धर्मसत्ता भएका मुलुकमा यस्ता घटना दिनदिनैजसो भइरहेका छन्। एक महिनाअघि पर्साकै एक गाउँमा बोक्सीको आरोप लगाई एक महिलालाई दिसा खुवाइयो। दुई वर्षअघि राजधानीकै जोरपाटीमा आरोपित महिलामाथि सांघातिक हमला गरियो। कतिको ज्यानै लिइएको छ। कतिलाई गाउँ निकाला गरिएको छ। कसैका हातखुट्टा भाँचिएको छ। कतिलाई दिसा खुवाइएको छ। कतिलाई भिरबाट खसालिएको छ। कति घटनामा दोषी बकाउने नाममा यातना दिएर बिरामीकै ज्यान लिइएको छ। तीमध्ये अधिकांश घटना मिडियामा आएका छैनन्। सुकरात, बुद्ध, गान्धीदेखि आधुनिक युगका महापुरुषहरूले आत्मज्ञानमा जोड दिए पनि मानव समाज अझै सभ्यताको आदिम युगमै छ।
तन्त्रमन्त्रको जालो
'वैद्यको छोराको गलामा गाँड, ज्योतिषीकी छोरी बैँसमा राँड' भन्ने उखान त्यसै बनेको होइन। वैज्ञानिक दृष्टिले फलित ज्योतिषी, झाँक्री विद्या, जन्तरमन्तरको औचित्य साबित हुँदैन। हुँदो हो त वैद्यको छोराको गलामा गाँड कहिल्यै आउने थिएन। कुनै पनि ज्योतिषीकी छोरी बैँसमा विधवा हुनुपर्ने थिएन।
सभ्यता विकासको प्रारम्भिक युगमा प्रत्येक जाति अमानवीय र अलौकिक तत्त्वको कल्पना गर्थे। यी तत्त्व सौम्य, क्रूर वा दुवै गुणले युक्त भएको मानिन्थ्यो। यही कारण अविकसित र पिछडिएका जातिमा भूतप्रेतको उपासना, मान्यता र भयको भावना जति प्रबल छ, त्यति सभ्य देश र शिक्षित समुदायमा छैन। अधिकांश नेपाली यी अलौकिक तत्त्वको अस्तित्वमा विश्वास गर्छन्। मानसिकरूपमा कमजोर व्यक्तिहरू भूतप्रेत वा बोक्सी देखेको दाबी गर्छन्। आदिवासी, अशिक्षित र अविकसित समुदायमा मात्र होइन, शिक्षित र सहरियाहरूमा पनि भूतप्रेतलाई मन्छने चलन छ। सनातन धर्ममा विश्वास गर्ने पढेलेखेका मानिसले उल्टै यस्तो अन्धविश्वासको विस्तारमा भूमिका खेलेका छन्।  यसको मूल आधार हाम्रा धर्मग्रन्थ र प्रचलित लोककथा हुन् जसमा तिनको अस्तित्व स्विकारिएको छ। भूतप्रेत शब्द प्रायः मरेका व्यक्तिको कथित आत्माका लागि प्रयोग गरिन्छ। यिनै भूतका पनि स्थानपिच्छे अनेक जाति भएको मानिन्छ। बोक्सीले भूतप्रेत उठाएर मान्छेमाथि लगाइदिने वा आफैँले चुसेर बिरामीको प्राण हर्ने अन्धविश्वास गरिन्छ। वैद्य वा झाँक्रीले बिरामीलाई तिनीहरूबाट बचाउने दाबी गर्छन्।
बोक्सी, भूतप्रेतमाथिको अन्धविश्वास त्यतिखेर बलियो हुन्छ जब झाँक्रीले हेरेका बिरामी निको हुन्छन्। त्यसमा झाँक्रीको नभई मनोचिकित्सा वा बिरामीकै सकारात्मक चिन्तनको भूमिका हुन्छ। सबैलाई बाटो देखाउने शिक्षित, धनीमानी र नेताहरू तान्त्रिकको शरणमा पुग्दा जनसाधारणको अन्धविश्वास अझै चुलिन्छ। अनेक फोयिबा भएका व्यक्ति आफूमाथि देवी वा देवता चढेको ठान्छन्। अचम्म, मानिसहरू तिनकै पूजा गर्न थाल्छन्। कमजोर मानसिकताका व्यक्ति शंकालु हुनु स्वाभाविक हो। कसैले जादूटुना लगाएर बाँझी बनाएको पोल लगाए निःसन्तान महिला तुरुन्तै विश्वास गर्छन् र झारफुकको चक्करमा फस्छन्। अर्कातिर 'देवता चढ्ने' को दिमागमा शंका लागेको व्यक्तिको नाम पहिलेदेखि घुसेको हुन्छ। झाँक्रीले बक्न लगाउँदा अवचेतनमा उसले त्यस्ता व्यक्तिको हुलिया र घरको अवस्थिति बताउँछ। पार्वती चौधरीको मामलामा यस्तै भएको देखिन्छ। मान्छेको यही कमजोर मानसिकताको फाइदा उठाउन जन्तरमन्तरवाला खप्पीस हुन्छन्। अतः पशुपन्छीको बलि चढाउने, अन्नपानी, सम्पत्ति स्वाहा गर्ने र आरोपितको ज्यानै लिने कृत्य हुन्छन्। कतिपयले भूत प्रसन्न गर्ने नाममा आफ्नै बालबालिकाको बलि दिएका खबरसमेत सुनिन्छन्।   
सन्त कविरदास भन्छन्, 'तन्त्रमन्त्र सबै झुटा हुन्। कोही भ्रममा नपर्नू।' हिन्दु दर्शनका प्रकाण्ड विद्वान् दयानन्द सरस्वतीका अनुसार मन्त्रमा आगो लगाउने शक्ति भए पहिला त्यही जिब्रोमा आगो लाग्छ जसले मन्त्र उच्चारण गर्छ। किनभने मन्त्रका कुनै पनि शब्द अर्थपूर्ण हुँदैनन्। श्रीलंकाका डा. कोबुरले बाबा र तान्त्रिकहरूलाई आफ्नो चमत्कार सिद्ध गर्न चुनौती दिँदा कसैले आँट गर्न सकेनन्। तथापि, यिनै निरर्थक कुरा हाम्रो संस्कृतिको अभिन्न अंग बनेको छ। जीवनभरको कमाइ यसमै स्वाहा भएको छ। यस्तै साधनाका लागि विचित्र क्रियाकलाप भइरहेका छन्। जनकलाल शर्माको किताब 'हाम्रो समाज एक अध्ययन' का अनुसार तन्त्रमन्त्रमा ज्ञान पाइने नाममा चोलियामार्गी र बीजमार्गीजस्ता संसर्गजन्य प्रथासमेत छन्। चोलियामार्गीहरू कृष्ण र गोपिनीको अभिनय गर्दै रासनृत्य गर्छन्। लुगा फुकाल्दै जाँदा जुन महिलाको चोलो जुन पुरुषको हातमा पर्छ, नातामा बाबुछोरी नै भए पनि उनीहरू संसर्ग गर्छन्। बीजमार्गी पनि चोलियामार्गीले जस्तै रासलीलापछि संसर्ग गर्छन्। अन्त्यमा गुरुको वीर्यलाई पञ्चामृत मानेर सबैले बाँडेर खान्छन्।
चमत्कारको भ्रम
जन्तरमन्तर धूर्त मानिसको दिमागको उपज थियो। पछि त्यो संस्कृतिको अभिन्न अंग बन्यो। यो विश्वास निरर्थक हो भन्ने कुरा अधिकांश तान्त्रिक, वैद्य वा कथित बोक्सीकै दीनहीन स्थिति हेर्दा प्रस्ट हुन्छ। अदृश्य शक्ति भए कथित बोक्सी गरिब र दीनहीन हुँदैनथे। कसैलाई पनि त्यति दीनहीन जिन्दगी बिताउने रहर हुँदैन। झाँक्री, तान्त्रिक र बाबाहरूले सानातिना चमत्कार गरेर देखाएपछि मान्छे अझै अन्धविश्वासमा फस्दै जान्छन्। तर, तिनले जानीनजानी सानोतिनो विज्ञानकै सहारा लिएको बुझ्ने हो भने यो भ्रम तोड्न सजिलो पर्छ। जस्तो कि बाबा वा तान्त्रिकहरू सिक्काबाट बिगुत निकाल्ने, चुटकी बजाएर औँलाबाट धुवाँ निकाल्ने, आगो खाने, आगोमाथि नाचेर खली खाने, दुई लठ्ठी जुधाएर आगो निकाल्ने, 'मन्त्रबल' ले हवनकुण्डमा आगो प्रज्ज्वलित गर्ने, मनको भेद बु‰ने, अग्निस्नान गर्ने, जिब्रोमा त्रिशूल छेड्नेखालका गतिविधि गरेर जनसाधारणलाई अचम्भित पार्छन्। यी विज्ञानका सामान्य खेल अभ्यास गर्ने हो भने तपाईँ–हामी पनि सजिलै गर्न सक्छौँ। बुद्धले भनेजस्तै कुनै पनि कुरा मान्नुअघि आफैँ जान्नु जरुरी छ। यति कुरा वैज्ञानिक प्रमाणसहित सर्वसाधारणलाई बुझाउन सके 'बोक्सी मार्ने' यी वनझाँक्री, सुनझाँक्री, रूखझाँक्री, आकाशझाँक्री, पातालझाँक्रीहरूका पाखण्डलीला समाप्त हुन्छ। मुख्य कुरा, तिनका आतंककारी कर्मकाण्डलाई अवैधानिक घोषणा गरी तिनलाई जेलको हावा खुवाउनु ढिला भइसकेको छ। बल्ल, प्रेत खुसी पार्ने नाममा कलिला बालबालिकाको बलि दिइएका र बोक्सीको आरोपमा दीनहीन दिदीबहिनीको हत्या गरिएका खबर सुन्नुपर्दैन।

प्रतिक्रिया