×

Warning

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JLIB_APPLICATION_ERROR_COMPONENT_NOT_LOADING

JFile: :read: Unable to open file: /data/nagariknews/components/com_k2/js/k2.js?v2.7.0&sitepath=/

Sunday 2 Poush, 2074 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

समाजवादको बाटो

(0 votes)
सबैले महसुस गरेको कुरा हो, नेपाली समाजले तीव्र गतिमा पुराना मान्यताहरूलाई भत्काइरहेको छ। ३० वर्षअगाडिसम्म नेपाली समाजलाई गाँजेर बसेको 'सामन्तवादको अवस्था' अब पुँजीवादमा रूपान्तरित भइसकेको छ, भलै त्यो पुँजीवाद प्रगतिशील ढाँचाको नभई अपभ्रंसित, दलाली वा बोलीचालीको भाषामा भन्ने हो भने 'बनिया प्रवृत्ति'को रूपमा छ। त्यसलाई त्यस्तो विशेषण दिनुको कारण के हो भने यसको प्रकृति उत्पादनमूलक र रोजगारी प्रवर्द्धन गर्ने खालको होइन कमीसनखोरखालको छ।
डा युवराज संग्रौला

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
विगत केही दशकमा नेपाली समाजको ढाँचामा अकल्पनीय मूल्यगत परिवर्तन आएका छन्। महिलाको समान व्यक्तित्वप्रतिको संवैधानिक मान्यता, छुवाछुतको अपराधीकरण, भाषिक अधिकारका मान्यताको संरक्षण र सीमान्तकृत समुदायको राजनीति र राज्यका निकायमा समानुपातिक सहभागिताका सिद्धान्त वर्तमान नेपाली समाजका आधारभूत मान्यता बनेका छन्। व्यवहारमा यी मान्यता पूर्णरूपमा कार्यान्वयनमा आइसकेका नहोलान्, तर निकट भविष्यमा अवलम्बन गरिनुपर्ने समाजिक मान्यताका रूपमा ती सिद्धान्तप्रति आमपरिवर्तनशील मानिसको समर्थन रहेको छ।

यी नयाँ मान्यताप्रतिको समर्थनले नेपाली समाजमा आधारभूत चरित्र एवं मान्यतामा ठूल्ठूला परिर्तन ल्याएका छन्। मूलतः जमिनमाथिको आश्रय र जमिनमा आवद्ध रहेको 'औकात' प्रणाली भत्किएको छ। विवाह प्रणाली पुरुषले आफ्नो अधीनमा रहने परिवारको निर्माण गर्ने प्रणालीका रूपमा अब रहेको छैन। मानिसका कानुनी सम्बन्धहरू मूलतः करारद्वारा निर्देशित हुन थालेका छन्। विज्ञता र ज्ञान मानिसका आर्जनका मुख्य स्रोत बन्न थालेका छन्। मानिसका अवधारणा सूचना प्रणालीद्वारा प्रभावित हुने गरेका छन्। त्यसैले समाज अब पूर्णरूपमा परम्परागत छैन।

यी सबै किसिमका परितर्वनले वर्तमान नेपाली समाजमा अनेकौँ किसिमका चुनौती पनि सिर्जना गरेका छन्। पुरानो मानसिकता र आधुनिकताका बीचमा खिचातानी रहेको छ। २०६३ सालको जनआन्दोलनबाट प्रभावित पुस्ताले वर्तमान समाजका मान्यतासँग आफ्नो सम्बन्धविच्छेद गरिसकेको छ। वर्तमान राजनीतिक व्यवस्था र त्यसप्रतिको मनोविज्ञान, आर्थिक व्यवस्थापन र त्यसका उत्पादन प्रणाली र शैक्षिक व्यवस्था एवं ढाँचासँग आफ्नो सम्बन्धविच्छेद नयाँ पुस्ताले गरिकसको छ। अर्थात् नयाँ पुस्ता र राजनीतिक व्यवस्थाबीच एउटा विरोधाभाषपूर्ण सम्बन्ध कायम रहेको छ। पुराना पुस्ताका पुराना मान्यतामा आधारित कथित उदारपन्थी लोकतन्त्रसँग नयाँ पुस्ताको सरोकार नै छैन। नयाँ पुस्ता राजनीतिक प्रणाली एवं राज्यव्यवस्थाको ढाँचा र त्यसको कार्यसम्पादन प्रणालीमा आमूल परिवर्तन चाहन्छ। अर्थात् यो पुस्ता कस्ता राजनीतिक कार्यक्रम तथा आर्थिक प्रणालीबाट आफ्नो हित हुन्छ भन्ने जान्दछ। उसको मतमा सक्षमता र योग्यता, विशेषज्ञता र विज्ञताका आधारमा अवसरहरू वितरण हुनुपर्छ। राजनीतिक नेताका आसेपासे र नातागोतालाई राज्यको जिम्मेवार पदमा नियुक्ति गर्ने सामन्ती प्रचलनको नयाँ पुस्ता विरोधमा छ।

अब गाउँका अशिक्षित मानिसले सलाम गरुन् भन्ने चाहनाले शाखा अधिकृतको पदमा जाँच दिने मान्यतामा नयाँ पुस्ता छैन। ऊ विज्ञता र व्यावसायिकताको सहयोगले कसैको चाकरीबिना 'मेरिटोक्रेसी' का आधारमा नोकरीमा संलग्न हुन चाहन्छ र राज्यको सेवा गर्न चाहन्छ। तर, राजनीति र राज्यव्यवस्था अहिले पनि राज्यका पदलाई पदीय हैसियत निर्माण गर्ने खोक्रो मान्यताद्वारा नै प्रभावित छ। मन्त्रालयका सचिवलाई अहिले पनि 'एडम स्मिथ, मार्क्स र जोन स्टुवार्ट मिल' का पुराना सिद्धान्तहरू नै दुनियाँ सञ्चालन गर्न काफी छन् भन्ने लाग्छ। तर, नयाँ पुस्ता पिकेटी र क्रुगमेनका कुरा गर्छ। राजनीतिक नेता र नेपालका अर्थशास्त्रीलाई 'वालस्ट्रिट'का बारेमा मात्र थाहा छ। उनीहरू अहिले पनि विकसित संसार भनेको युरोप र अमेरिकामात्र हो भन्ने ठान्छन्। जसको आर्थिक वृद्धिदर क्रमशः शून्य प्रतिशत र डेढ प्रतिशतमा झरेको छ। तर, नयाँ पुस्ता उदीयमान अर्थतन्त्रका गति शक्तिहरूको समीक्षा गर्छ र नेपाललाई छोटो समयमा विकसित गर्न सकिन्छ भन्ने ठान्छ। यी सबै कुराले के प्रष्ट गर्छन् भने नेपाली समाजलाई परिवर्तनको बाटोमा सहजरूपमा हिँड्न नदिएर आफ्नो पदीय एवं सत्ताको हैसियतको आकांक्षा बोकेका कथित नयाँ र पुराना सबै शक्तिसँग नेपाली नयाँ पुस्तले आफ्नो सम्बन्धविच्छेद गर्नुको अर्को विकल्प छैन।

यस यथार्थलाई नेपालका राजनीतिक दल र कर्मचारीतन्त्रका नाइकेले गम्भीररूपमा बुझ्ने प्रयास गर्दै, राज्यका सबै क्षेत्रमा शिक्षित नयाँ पुस्ताको प्रवेशलाई बाटो छोडेनन् भने अब हुने परिवर्तनको शृंखलाले धेरैलाई सकसपूर्ण पलायन गर्न बाध्य गर्नेछ। त्यसो हुन सकेन भने राज्यको अस्तित्व नै खतरामा पर्न सक्नेछ। यस्तो किसिमको आन्दोलनको रूपरेखा तयार भइसककेको छ, तर त्यलाई नेतृत्व गर्ने अगुवाको अभावले आन्दोलन प्रकट हुन सकिरहेको छैन।

संविधानको घोषणापछाडि नेपाली समाजले तत्काल आर्थिक क्रान्तिको बाटो लिनुपर्ने थियो। त्यो त धेरै परको कुरा भयो, भूकम्पले तहसनहस पारेको जीवनलाई पुनर्स्थापित गर्ने कार्यसमेत हुन सकिरहेको छैन। संविधानको घोषणापछि शिक्षा, आर्थिक एवं वित्तिय क्षेत्र र उत्पादनका क्षेत्रमा खासगरी ऊर्जा विकास र कृषिको आधुनिकीकरणका क्षेत्रमा आमूल परिवर्तनका योजना सरकारले घोषणा गर्नुपर्ने थियो। तर, सरकारी निकाय एवं सरकारको नेतृत्व गर्ने व्यक्ति पुरातनवादी राज्यव्यवस्थापन प्रवृत्तिबाट बाहिर आउनै सकेनन्। उनीहरूलाई नेपालको मुर्च्छित अर्थतन्त्रलाई प्राण दिने सामान्य उपाय पनि थाहा छैन र उनीहरू जनताप्रति किन्चित उत्तरदायी छैनन् भन्ने स्पष्ट देखिन्छ। पश्चिमी देशहरूको खर्च घटाएर बाँच्ने प्रयत्नका लागि संघर्षरत् अर्थतन्त्रको कन्तबिजोगलाई पनि उनीहरू देखिरहेका छैनन् र नवउदीयमान देशका अर्थतन्त्रले निर्माण गरेका अवसरलाई पनि देखिरहेका छैनन्। 'बनियातन्त्र'बाट बाहिर निस्कन नसकेका नेपालका औद्योगिक घरानाहरू, जो आफ्नो स्वार्थका लागि राष्ट्रप्रति जुनसुकै गद्दारी गर्न तयार छन्, उनीहरू मर्यादापूर्ण व्यावसायिकता होइन राजनीतिक दलका नेतालाई कमिसन र घुस खुवाएरै आफ्नो उन्नति राम्रोसँग हुने देख्छन्। उनीहरू प्रगतिशील औद्योगिक वातावरणको निर्माण गरी कानुन र कानुनी शासनमा आधारित औद्योगिक विकासको वातावरण निर्माण गर्न उद्यत् छैनन्। देशको न्यायप्रणाली आदिम सोचबाट माथि उठ्ने प्रयास त होइन, बरु राजनीतिसँग मायालुको जस्तो सम्बन्ध गाँसिरहेको छ। राजनीतिमा सक्षमता र सामर्थ्यता होइन भक्तिभाव र गणेशप्रवृत्ति यथावत् छ। सञ्चार माध्यम 'स्वतन्त्र विचार'को प्रभाव गर्ने माध्यम होइन, व्यापारमा परिणत भइरहेको छ। नैतिकता र व्यावसायिक आचार उन्मूलन भइसकेको जस्तो अवस्था विद्यमान छ।

यी सबै अवरोधले समाजको नियमित र स्वाभाविक परिवर्तनको क्रमलाई जबर्जस्ती रोकिरहेका छन् र हुने तथा नहुने मानिसका बीचमा ठूलो खाडल सिर्जना गरिरहेका छन्। जनसंख्याको सानो हिस्सा जो अस्वाभाविक आर्जन गर्न सफल भएको छ, त्यसले अति उपोक्तावादलाई उकासेको छ। त्यसकै कारण मूल्यवृद्धि चरम समस्याको रूपमा देखापरेको छ। गरिबलाई बाँच्न कठिन बनाएको छ र वामपन्थी प्रधानमन्त्रीले नेतृत्व गरेको सरकारलाई पनि गरिब र गरिबीका यी यथार्थ थाहा भइरहेका छैनन्। विगत पाँच महिना भावनात्मक राष्ट्रवादलाई विकास लक्षित र समर्थित राष्ट्रवादमा परिणत गर्ने राम्रो समयका रूपमा प्रयोग गर्न सकिन्थ्यो। तर, त्यसतर्फ काम नै भएन। नाजायज ढंगबाट भारतले लगाएको नाकाबन्दीलाई हटाउने र चीनसँग पारवहन सन्धि गर्नुलाई नै हामीले महान् उपलब्धिका रूपमा ग्रहण गर्नुपर्ने बाध्यता छ। जब उत्पादन शिथिल हुन्छ तब वित्तीय विकासको सकारात्मक चक्रको तीव्रता निर्माण गर्न सकिँदैन। त्यसो हुँदा बेरोजगारी बढ्छ। आममानिसमा चरम निराशा र हरेक कुरामाथि शंका गर्ने प्रवृत्तिको पनि विकास हुन्छ। अहिले देशमा त्यस्तै भइरहेको छ।

नेेपालको युवा पुस्ता जुन निराशा र शंकालु प्रवृत्तिको रोगबाट दिनदिनै संक्रमित हुँदैछ, त्यसले भोलि देशमा ल्याउने विशृंखलता अस्वाभाविक हुन सक्छ। अपराधका घटनामा वृद्धि, आत्महत्याका घटनाको भयावहपूर्ण अवस्था, सम्बन्धविच्छेदमा भारी वृद्धि, भ्रष्टाचारमा व्यापकता र राजनीतिकर्मीमा देखिएको गिर्दो सदाचारले आउने दिनको संकटप्रति इशारा गरिरहेका छन्। सन् २००७ मा अमेरिकाको आर्थिक विग्रह र मन्दीसँगै संसारमा आएको प्रभावले चीनमा २७ लाख मानिस बेरोजगार भए। तर, त्यसलाई चीनले तत्कालै सम्बोधन गर्योर। त्यही रणनीति नेपालले ग्रहण गर्नुपर्ने अवस्था अहिले छ। आर्थिक मन्दीसँगै जब मानिस उद्योगहरूबाट विस्थापित भए, चीनले ठूल्ठूला सडक, रेलवे र थुप्रै नयाँ सहर निर्माणमा व्यापक लगानी गर्यो र बैंकहरूलाई जग्गा विकास तथा अवास निर्माणमा लगनी गर्न आह्वान गर्योा। यस्ता संरचना निर्माणका योजनाले तत्कालै करोडौँ मानिसलाई रोजगारी दिन सक्यो र चीनमा राजनीतिक उथलपुथल हुन पाएन। यही अवस्था नेपालमा अहिले छ। त्यसैले सरकारले आफ्नै लगानीमा काठमाडौँ–निजगढ फास्टट्रयाकको काम तत्काल थाल्नुपर्छ। मध्यपहाड ४ लेनको लोकमार्गको निर्माण युद्धस्तरमा गर्नुपर्छ। काठमाडौँको रिङरोड तत्काल थाल्नुपर्छ र भूकम्पले क्षति गरेका घरको पुनर्निर्माणका साथै केही अत्याधुनिक सहर तत्काल निर्माण थाल्नुपर्छ। यसले हजारौँ मानिसलाई रोजगारी दिन्छ र युवा पलायनलाई रोक्छ। वित्तीय सकारात्मक चक्रको निर्माण पनि हुन्छ। ठूल्ठूला संरचना निर्माण थालनी गरी रोजगारीका अवसर व्यापक पार्न सकिएन भने नागरिकमा निराशा र आक्रोश निर्माण हुनेछ। यस्तै अवस्थामा विदेशीले सबैभन्दा बढी खेल्ने अवसर प्राप्त गर्छन्।

प्रतिक्रिया