Friday 4 Shrawn, 2075 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

नयाँ शक्ति र दिल्लीको चस्मा

(0 votes)
सत्ता राजनीतिको लहर केही शान्त भएजस्तो छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक खपतका लागि बजेट पारित भएपछि औपचारिक कार्यक्रमहरूमा आफ्नो नेतृत्वमा सरकार बन्ने सपना बाँड्न छाडेका छैनन् ।
विश्वमणि पोखरेल

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june
सत्ताको अर्को पक्ष फोरम लोकतान्त्रिकभित्र सत्ताभोग गर्न नपाएका नेताहरू नयाँ समीकरणको प्रचारमा छन्, उता पार्टी अध्यक्ष विजय गच्छदार भने मौन छन् । सरकार गठन हुँदा गच्छदार, दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको संयुक्त हस्ताक्षरको ८ बुँदे सम्झौता बेवारिसे बनेको छ । ८ बुँदे सम्झौता गरेर गच्छदारलाई सत्तामा सामेल गर्न सफल प्रधानमन्त्री ओली यतिखेर विगत बिर्संदै छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धन आपसी विभाजनका बीच एकताको असफल प्रदर्शन गर्दैछन् ।

मधेसमा ६ महिना लामो आन्दोलन र नाकाबन्दीपछि काठमाडौँ उक्लिएको मोर्चा घोषित कार्यक्रमअनुसार रिले अनशनको राजनीति गर्दैछ र सँगै आपसमा विवाद र विभाजनको समाचार पनि निर्माण गर्दैछ । ओली यही मौकामा वार्ताका लागि औपचारिकता निर्वाह गर्दैछन् । सरकारसँग वार्ता गर्ने कि नगर्ने ? मोर्चा र गठबन्धन दुवैमा चरम विरोधाभास देखिन्छ । पार्टीपिच्छे र नेतापिच्छे वार्ताबारे भिन्नभिन्न मत र मान्यताले काठमाडौँ केन्द्रित आन्दोलनको औचित्यबारे प्रश्न उठ्ने निश्चित छ । के देखिन्छ भने, निश्चित उद्देश्यका लागि मोर्चाबन्दी गरेका मधेसवादी दलहरू तथा आदिवासी जनताति संगठनहरू मोर्चाको नाममा मियोबिनाको दाइँजस्तै राजनीतिक प्रहसनमा व्यस्त छन् ।

मधेसका मागहरू अघि सारेर सत्तासीन भएका गच्छदार र सरकार बनाउन हस्ताक्षर गर्न तयार प्रधानमन्त्री ओली सम्झौताका बुँदाहरूप्रति इमानदार हुने हो भने धेरैजसो माग सम्बोधन हुनेछ । तर, सत्तासुखमा रमाएका गच्छदार आफ्ना मागबारे कुरा उठाइरहेका छैनन् । सायद ओली पनि गच्छदारबाट सत्ताका लागि खतरा छैन भन्ने बुझाइमा छन् । मुलु्कको समसामयिक राजनीतिमा अर्थ राख्ने एकखाले समूह सिंहदरबारमा राज गरिरहेको छ । अर्को सडकमा छ र संविधान निर्माणमा अग्रणी भूमिका खेलेको तथा जनताको कसीमा सबैभन्दा ठूलो दलको पगरी पाएको नेपाली कांग्रेस आफैँ अन्योलग्रस्त देखिन्छ । न उसले जिम्मेवार प्रतिपक्षी भूमिका निर्वाह गर्न सकेको छ न त सत्ताप्राप्तिको खेलमा सफलता हात पार्न सकिरहेको छ । खासमा कांग्रेस सत्ताप्राप्तिको सपनामा डुबेर प्रतिपक्षीको भूमिका खेल्दैछ । सत्ताका लागि चालेका राजनीतिक कदम र विरोधका स्वरहरू कतिपय अवस्थामा जनआवाज बन्न सक्तैनन् । महँगी, कालोबजारी, दण्डहीनता, अपराधीकरणले मुलुकलाई गाँजेका बेला राजनीतिक पार्टीहरूको ध्यान जनताको दैनिकीप्रति केन्द्रित हुनु आवश्यक छ । प्रतिपक्षीलाई जनताले आफ्ना कुरा बोलिदिने निकाय ठानेका हुन्छन् । अन्योलग्रस्त अवस्थामा जनताको विश्वास टुट्ने खतरा हुन्छ । कारण, राजनीति चलायमान छ । त्यस्ता पार्टी राजनीतिक दौडमा पछि पर्दै जान्छन् र राजनीतिको मूलधारबाट अगाडि बढ्ने नै अगुवा हुन्छन् ।

मुलुकको सामयिक राजनीतिमा नयाँ शक्तिको उदय भएको छ, व्यापक प्रचारका साथ । नेपालको राजनीतिमा नयाँ शक्तिले पुराना पार्टीहरूले ओगटेको स्थान भत्काउन सक्छ वा सक्तैन, समयले देखाउने कुरा हो । नयाँ शक्तिले अघि सारेको 'अबको निकास, आर्थिक विकास' नारा चुनावी गणितमा कति सफल हुने हो ? त्यसको परख पनि अहिले गर्नु हतारमात्रै हुनेछ । नेपालको राजनीतिमा ४० को दशकदेखि उपस्थिति जनाउँदै आएका डा. बाबुराम भट्टराईले ६ महिनाअघि अभियान सुरु गरेर अहिले राजनीतिक पार्टीमा रूपान्तरण भएको नयाँ शक्तिको परख नेपाली जनताले गर्दै जानेछन् । पार्टी घोषणा कार्यक्रममा बाबुरामले आफ्नो नेतृत्वको पार्टी मुलुकको राजनीतिमा वैकल्पिक शक्ति हुने ठोकुवा गरेका छन् । ठूलो प्रचार, विज्ञापन र देशी–विदेशीको उल्लेखनीय उपस्थितिमा गठन भएको नयाँ शक्ति साँच्चिकै 'वैकल्पिक शक्ति' बन्न सक्छ त ? प्रश्नहरू गहिरा छन् । अधिकार प्राप्तिका निम्ति सम्पन्न पटकपटकका आन्दोलनको पृष्टभूमिमा नेपाली जनताले विकास र समृद्धि चाहेका बाबुरामको बुझाइ व्यवहारमा कति खरो साबित हुने हो सयमले देखाउँछ नै ।

पार्टी घोषणाका औपचारिकतापछिको पार्टीको बन्दसत्रबाट नयाँ शक्तिले आफ्नो राजनीतिक कार्यदिशाा 'समाजवादउन्मुख वाम लोकतान्त्रिक' सिद्धान्तमा आधारित हुने भनेको छ । बाबुरामको नयाँ शक्तिको विभिन्न संगठनमा अनेकथरिका मानिस छन्, यसकारण पनि यो दल विभिन्न मतहरूको 'कक्टेल्स' बन्न पुगेको छ । कक्टेल्स सिद्धान्त सफल हुन सहज भए पनि त्यसले ठोस परिणाम दिन सक्तैन । बाबुरामले आफ्नो पार्टीको सिद्धान्तबारे भनेका छन्– 'बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादका सकारात्मक पक्ष ग्रहण गर्ने र कम्यूनिज्मका राम्रा कुरा लिएर अघि बढ्ने हो ।' बाबुरामले बिपीको समाजवादलाई कतिसम्म व्यवहारमा उतार्ने हुन् र त्यसमा कम्युनिज्यको क्रान्तिकारिता कति थप्ने हुन् ? त्यसको लेखाजोखा अहिले नगरौँ । बिपीको समाजवादको प्रशंसा गरेर कांग्रेसको किल्ला भत्काउने प्रयोजन हो भने त्यो बेग्लै बहसको विषय बन्छ, तर अहिलेलाई त्यो सस्तो राजनीति हो । तथापि, बाबुराम साँच्चिकै आफ्नो सिद्धान्तबारे सही बताउँदैछन् भने उनले बिपीको समजावादको मर्म बुझेको अनुभव हुन्छ । बिपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादलाई उनको समयमा फैलिरहेको वामपन्थीय राजनीतिक दर्शन र उनीहरूले प्रचार गर्ने समाजवादमाथिको प्रतिक्रिया भन्न सकिन्छ । बिपीको प्रजातान्त्रिक समाजवादका व्याख्याताहरू समाजवादमा प्रजातन्त्र थपियो भने त्यो प्रजातान्त्रिक हुने, त्यसबाट प्रजातन्त्र हटायो भने वामपन्थ हुने बताउँछन् । बाबुराम कतै बिपीको प्रजातान्त्रिक समजावाद र उनको आफ्नो मान्यताको वामपन्थीय दर्शनबीच फ्युजन गर्दै त छैनन् ? बाबुरामले समयको पदचापलाई बुझेका हुन् भने उनको राजनीतिक दर्शन यस्तै देखिन्छ । त्यहाँ वामपन्थीहरूले आफ्नो ठान्ने समाजवादमा लोकतन्त्र थपिएको छ । खासमा यो बिपीवाद नै हो । बाबुरामले नयाँ भनिरहेको फ्युजन उहिल्यै बिपीले गरिसकेका थिए । त्यसमा 'कन्फ्युजन' गर्नु आवश्यक छैन ।

नेपालको राजनीतिमा खासगरेर २०४६ सालको आन्दोलनपछि वामपन्थीय आदर्शका माक्र्सवाद, लेनिनवाद, माओवाद र लोकतान्त्रिक समाजवादबीच कार्यगत एकता हुँदै आएको छ । त्यसबखत बनेको संविधानमा वामपन्थी चिन्तनले प्रशस्त स्थान पाएको थियो । दोश्रो जनआन्दोलन हुँदै दोश्रो संविधानसभाबाट निर्माण भएको संविधानको प्रस्तावनामै समाजवादउन्मुख समाजको परिकल्पना गरिएको छ । अहिलेको उदारवादी विश्वमा वामपन्थीय जडताले काम नगर्ने भएकोले लोकतान्त्रिक समाजवादप्रति धेरैको आकर्षण छ । यसबाट पनि बाबुरामले समयको पदचापलाई बुझेको भान हुन्छ ।

बाबुरामको पछिल्लो राजनीतिक यात्रामा बिपीको लोकतान्त्रिक समाजवाद सहारा बनेको हामी सुन्दैछौँ । त्यसो त उनको राजनीतिक यात्रा पनि बिपीसँग कतै न कतै सम्बन्धित रहेको देखिन्छ । दिवंगत स्व. ऋषिकेश शाहको आत्मकथा 'प्रारब्ध र पुरुषार्थ'मा उनले बाबुरामको प्रारम्भिक राजनीतिबारे उल्लेख गरेका छन् । शाहका अनुसार चण्डीगढमा इन्जिनियरिङ पढिरहेका बाबुरामले बिपीलाई भेट्न चाहेको र आफूले दिल्लीको इम्पेरियल होटलमा भेटघाट गराएको प्रसंग उल्लेख गरेका छन् । उनले भनेका छन् '... बिपीसँग मैले बाबुरामको परिचय गराइदिएँ । चण्डीगढमा इन्जिनियरिङ पढिरहेको विद्यार्थीको रूपमा । बाबुरामले बिपीसँग भने 'मैले दिल्लीमा प्रवासी नेपालीमाझ काम गरेको छु, विद्यार्थीमाझ मात्र होइन वर्किङक्लाससम्म पनि । म केही गरेर देखाउन चाहन्छु । त्यसैले आएको । एम्बेसीको अघिल्तिर गएर तपार्इंलाई छोडियोस्, नेपाल फिर्ता बोलाएर पार्लियामेन्ट रिकन्भेन गरेर तपाईंलाई पावर दिनुपर्छ भन्ने माग राखेर त्यो मागपत्र श्री ५ महेन्द्रलाई एम्बेसीमार्फत् पठाउन चाहन्छु ।' बिपीले सोचेर ठीक छ गर्नुस भनेको प्रंसग उल्लेख गर्दै शाह लेख्छन्– 'त्यसको एक हप्ताभित्र बाबुरामले दिल्ली र वरपर पढ्ने धेरै नेपाली विद्यार्थीलाई एम्बेसीमा लगे । नक्कली पेस्तोलसहित विद्यार्थी देखेर राजदूत बेदानन्द झाको सातो गयो । त्यसको केही दिनपछि पाँच–सात हजारको जुलुस एम्बेसी अघिल्तिर लगेर मागपत्र पेस गरे । त्यसरी आएका हुन् बाबुराम राजनीतिमा । ठूलो आवाज गरेर धूमधामका साथ पसेका हुन् यिनी राजनीतिक परिदृश्यमा ।'

आजभन्दा करिब ४ दशकअघि बिपीलाई पावर दिनुपर्छ भन्दै राजनीतिमा आएका बाबुराम अहिले तिनै बिपीको प्रजातान्त्रिक समाजवादमा वामपन्थीय विचारको फ्युजन गराउने उद्देश्यमा छन् । दिल्लीबाट बिपीलाई पावर दिलाउने ध्येयबाट सुरु भएको उनको राजनीतिक यात्रा नयाँ शक्तिको आवरणमा कसरी फैलने हो ? विस्तार हुने हो ? हेर्न बाँकी छ । नयाँ शक्तिको नाममा ठूलो आवाजका साथ सुरु भएको राजनीतिक यात्राका क्रममा उनले धेरै प्रश्नको उत्तर दिनुपर्नेछ । माओवादी 'जनयुद्ध' कालमा शीर्ष नेतृत्वमा रहेर खेलेको भूमिकाबारे चित्तबुझ्दो स्पष्टीकरण आवश्यक छ । त्योभन्दा महŒवपूर्ण कुरो, उनको राजनीतिक यात्रामा दिल्लीले कसरी साथ र समर्थन गर्छ त्यसले पनि गहिरो अर्थ राख्छ । नेपालका राजनीतिकर्मीहरूमाथि उनीहरूको दिल्ली कनेक्सन, साथ र समर्थनबारे चर्चा बढी नै हुने गर्छ । ऋषिकेश शाहले बाबुरामकै प्रंसगमा सुरुका दिनमा उनले विश्वविद्यालयहरूमा सामान्य कार्यक्रम गर्ने गरेको तर सञ्जय गान्धी शक्तिमा आएका बेला भव्यताका साथ कार्यक्रम आयोजना गरेको चर्चा गरेका छन् । हरेक वर्ष इन्डियाभरि पढ्ने लडकालाई जम्मा गरेर बाबुरामले मिटिङ गर्ने गरेको बताउँदै शाह लेख्छन्–'पैसा नहुँदा विश्वविद्यालयमा कार्यक्रम हुन्थ्यो । तर, सञ्जय गान्धी पावरमा आइसकेपछि इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजीको त्यत्रो अडिटोरियममा सहभागीका लागि खानपानको व्यवस्था हुन थाल्यो । त्यहीबेला हो उनलाई सञ्जयले किनेको भन्ने हल्ला चलेको ।'

बाबुरामको नयाँ शक्ति गठनलाई दिल्लीले कसरी लिएको छ ? नेपालको राजनीतिमा गहिरो चासो राख्ने दिल्लीसँगको सम्बन्धले काठमाडौँको राजनीतिमा अर्थ राख्ने गरेको हामीले देख्दै–भोग्दै आएका छौँ । राजनीतिक यात्राका प्राम्भिक दिनहरूमा दिल्लीबाट पाएको साथ र समर्थन अहिले पनि निरन्तर छ त ? नयाँ शक्ति घोषणासभामा ठूलो संख्यामा तराई–मधेसका मानिस सहभागी भएको विषयलाई कतिपयले दिल्लीको चस्माले व्याख्या गरिरहेका छन् । यस्ता प्रश्नको उत्तर स्वयं बाबुरामबाहेक अरुले दिन सक्ने कुरा होइन । राजनीतिको मैदानमा खरो उत्रिएका बाबुरामले यस्ता कतिपय प्रश्नको सामना गर्नुपर्नेछ । उनको जुझारु राजनीतिक यात्रामा अब संयम, धैर्य अपेक्षित छ ।

प्रतिक्रिया