Tuesday 26 Mangshir, 2074 |
Menu

विचार

istl

सीमाबासीका समस्या

  • शुक्रबार ३ असार, २०७३
  • प्रेमबहादुर शाही
  • Be the first to comment!
(0 votes)
संसारका जुनसुकै देशको आ–आफ्नै राष्ट्रियता, सार्वभौमिकता, स्वाभिमान र स्वतन्त्र पहिचान हुन्छ। त्यसैका लागि सबै देशको सीमा रेखा छुट्टाइएको हुन्छ। त्यो सिमाना रेखा अन्तर्राष्ट्रिय मापदण्डअनुसार आकाशदेखि पातालसम्म, तलदेखि माथिसम्म रेखाङ्कित हुन्छ।
nepali-patro-june
सीमा रेखालाई अर्को कुनै पनि देशले जमिनमुनिबाट होस् वा आकाशमाथिबाट पार गर्न पाउँदैनन्। कुनै पनि देशले सीमा रेखाको आत्मरक्षाका लागि देशको सेना, सुरक्षा फौज, सीमा सुरक्षा बल र अन्य सुरक्षाकर्मी तैनाथ गर्ने गर्छ। अर्को देशले सीमा रेखा पार गर्न खोजेमा त्यो देशको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता वा स्वाभिमानमाथिको नाङ्गो आक्रमण मानिन्छ। त्यस बेला सीमा रेखा पार गर्ने देशसँग सो देश युद्ध गर्न तयार हुनुपर्छ वा त्यस देशको शरण लिई गुलामी बन्नुपर्छ। यी दुई विकल्पमध्ये एउटा विकल्प राज्यले अवलम्बन गर्नुपर्ने हुन्छ।

विश्वमा सिमानाकै कारण सयौं देश वर्षाैंसम्म युद्धमा होमिएका छन्। लाखौं नागरिकको ज्यान गएको छ तर नेपाल–भारतबीचको सीमा रेखालाई भारतले दिनदहाडै धेरै पटक पार गरिसकेको छ। सन् १८१६ मार्च ४ मा भएको सुगौली सन्धिदेखि भारतीय सरकारको प्रत्यक्ष निर्देशनमा वा सीमा सुरक्षा बलको एकलौटी आत्मनिर्णयले भारतसँग नेपालका सिमाना जोडिएका २६ जिल्लामध्ये २१ जिल्लाको ५४ स्थानमा पटक–पटक सीमा रेखा पार गरेको छ। नेपालले ९८ प्रतिशत सीमा समस्या हल भएको जानकारी सार्वजनिक गरेको छ तर यो तथ्याङ्क मान्न कुनै पनि देशभक्त नेपाली तयार छैनन्। किनभने सबैभन्दा धेरै कालापानी लिम्पियाधुरा क्षेत्रमा ३७ हजार हेक्टर र सुस्तामा १४ हजार हेक्टर र अन्य सीमा जोडिएका स्थानहरूमा नेपालको भूमि भारतले कब्जा गरेको छ। अन्तर्राष्ट्रिय जगतमा एसियाको ठूलो गौरवशाली लोकतन्त्रवादी देश भनेर चिनाउन खोज्ने भारतले यस्ता विषयमा अन्तर्राष्ट्रिय नियम, कानुन, मूल्य/मान्यता पालना नगर्नु दुःखद् पक्ष हो।

अहिले नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म नेपाल–भारतबीचमा रहेका सीमा चिह्न (पिलर) ठाउँ–ठाउँमा सार्ने, भत्काउने कामसमेत भइरहेको छ। वि.सं.२०२७ सालतिर आफ्नो शासन सङ्कटमा गरेपछि राष्ट्रिय सङ्कट हल गर्ने भनी राजाले भारतसँग एक प्रकारको सम्झौता गरे, त्यसपछि क्रमशः वि.सं.२०२८ सालतिर भारतीय सेनालाई नेपालको कालापानी छिर्न अनुमति दिएपछि त झन् सुस्तामा मात्र हैन, समग्र देश नै सङ्कटमा पर्दै गएको छ। भारतले अहिले पनि कन्चनपुरको विभिन्न स्थानमा सीमा अतिक्रमण गरी दशगजामै क्याम्प राखेको छ। वि.सं. २०४० सालमा भदौ २३ गते भारतीय सीमा सुरक्षा बलले नेपालको सीमा अतिक्रमण गर्दा गाउँलेले प्रतिकार गरेका थिए, त्यसबेला मुन्ना खाँको नेतृत्वमा भएको प्रतिकारमा भारतीय सरकारी फोर्सका कन्सेट बलसहित दुईजना प्रहरी मारिएका थिए। त्यसै कारणले मुन्ना खाँले २२ मुद्दा झेल्नुपरेको थियो।

वि.सं. २०६७ सालमा बर्दिया जमुना ९ शान्तिपुरका हर्कबहादुर शाहीलाई अरहर बारीमा काम गरिरहेका बेला बिनाकारण भारतीय सीमा सुरक्षा बलका मानिसले नियन्त्रणमा लिइ कुटपिट गरी मारेका समाचार बाहिर आयो। सरकारले भने त्यो घटनाप्रति खासै चासो दिएन। नेपालीलाई भारतको विभिन्न ठाउँबाट मजदुरी गरेर घर फर्कने क्रममा कुट्ने, लखट्ने, बलात्कार गर्ने जस्ता खबर पनि बारम्बार आइ नै रहेका छन्। यी त केही प्रतिनिधिमूलक घटनामात्र हुन्, यस्ता घटना नियाल्दै जाने हो भने धेरै छन्। आफ्नो मातृभूमिमा अरुको शरणार्थी बनेर बस्नुपर्दाको पीडा यहाँ अभिव्यक्त गर्न सकिँदैन। सीमा क्षेत्रमा बसोबास गर्दै आएका किसानको लालपुर्जा, नागरिकता वितरण कार्यमा उत्पन्न हुने केही कठिनाइको फाइदा उठाउँदै भारतीय पक्षबाट आफूलाई नागरिकता र लालपुर्जा दिलाइदिने आश्वासन दिँदै जमिन अतिक्रमण गर्ने र त्यसको प्रतिरोध गर्दा अनेक मुद्दा मामिलामा नेपालीलाई फसाइ जेलमा समेत हाल्ने गरेको नेपालगन्जस्थित सीमा क्षेत्रमा बसोबास गरेका स्थानीयबासी बताउँछन्।

यसरी दिन/प्रतिदिन भारतीय पक्षबाट दुर्व्यवहार भइरहँदा पनि सरकारहरु सीमावर्ती बासिन्दाका पक्षमा बोल्न सकेका छैनन्। नेपालको अस्थिर राजनीतिक कारणले गर्दा भारतीयहरुले नेपालमा यसरी चलखेल बढाउन सकेका हुन्। आफू सत्तामा र स्वार्थको राजनीतिमा टाँस्सिरहनका लागि भारतको विरोध नगर्ने रणनीतिअनुसार आफ्नै देशका नागरिकले पाएको दुःखमा पनि कोही बोल्न तयार नहुनु विडम्बनापूर्ण स्थिति हो। भारतीय पक्षबाट अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लघङ्न गर्दै नेपालको 'खानी, पानी र जमिन' माथि अतिक्रमण गर्न खोजिएको सबै नेताले बुझेका छन्। तर सत्ता भागबन्डाको राजनीतिमै समय नपुगेकाले होला, उनीहरुको ध्यान त्यता पुग्न सकेको छैन। तराईको अधिकांश भागमा भारतीय सुरक्षाकर्मी हतियारसहित नेपालको सीमा रेखा पार गरी प्रवेश गर्नु सामान्य बनेको छ। उनीहरुले सीमा क्षेत्रका बासिन्दालाई यो अर्कै देश हो भन्ने भुलेर मनलागी दुर्व्यवहार गर्ने गरेका छन्। तर पनि पीडितहरु केही गर्न सक्ने अवस्थामा छैनन्।

अब भारतले नेपालप्रति अलिकति मात्र आँच पुर्यारउने, नियम उल‹न गर्ने, नेपाली जनतामाथि थिचोमिचो, शोषण र दिनदहाडै दुवै देशबीचममा रहेको सीमा रेखालाई पार गरी नेपालको जमिनलाई अतिक्रमण गर्ने जस्ता कार्य तत्काल रोक्नुपर्छ। नेपालको जति पनि जमिन अतिक्रमण गरिएको छ त्यो नेपाललाई नै फिर्ता गर्नुपर्छ। राष्ट्रियता, सार्वभौम, स्वाभिमान, स्वतन्त्र पहिचान र अखण्डता रक्षा गर्नका लागि सम्पूर्ण नेपाली पनि एक हुनुपर्छ। आफ्नो स्वार्थ पूर्ति गर्न खोज्ने जोकोहीलाई खबरदारी गनुपर्छ। विगतमा देखापरेका राष्ट्रियता विरोधी, जनविरोधी चरित्र वा गुलामी बन्ने परिपाटी अन्त्य गर्नुपर्छ। नेपाल–भारतबीच वैज्ञानिक सीमारेखा तयार गरी दुवै देशबीच सदियौंदेखि उब्जिएका भूमि समस्याको दीर्घकालीन समधान खोज्यौं भनेमात्र राष्ट्र, राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रता र सार्वभौमिकताको रक्षा हुनेछ।

प्रतिक्रिया