Tuesday 25 Mangshir, 2075 |
Menu

विचार

republica-headerdiscount-subscribe1

istl

नोबेल पुरस्कार पाउने प्रतिभा

(0 votes)
सन् २०१३ का नोबेल पुरस्कार विजेताको नाम केही दिनअघि घोषणा भइसकेको छ। नोबेल पुरस्कार विश्वकै सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिन्छ। नोबेल पुरस्कारको स्थापना सन् १९०० मा स्विडेनका वैज्ञानिक एवं विस्फोटक पदार्थ 'डाइनेमाइट'का आविष्कारक अल्फ्रेड नोबेलको नाममा भएको हो। सन् १८३३ मा जन्मेका नोबेलले डाइनेमाइटको व्यापारबाट निकै पैसा कमाए र धनी भए। नोबेल अविवाहित थिए। सन् १८९६ को डिसेम्बर १० मा देहान्त हँुदा उनका कुनै उत्तराधिकारी थिएनन्। उनले आफ्नो शेषपछि सम्पति कसैलाई दिन चाहेनन्। सन् १८९५ मा उनले एक इच्छापत्र तयार पार्न लगाएर आफ्नो सम्पत्तिबाट अक्षयकोष स्थापना गरे। उक्त कोषबाट प्राप्त आम्दानीबाट विज्ञानतर्फ भौतिकशास्त्र, रसायनशास्त्र र क्रिया विज्ञान तथा चिकित्साशास्त्रमा महत्वपूर्ण खोज वा आविष्कार गरेका, साहित्यको क्षेत्रमा ठूलो योगदान पुर्‍याएका र विश्वशान्ति कायम गर्न विशेष योगदान पुर्‍याएका व्यक्ति वा संस्थालाई नगद राशिसहितको पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइयो। सन् १९०१ देखि नोबेल पुरस्कार प्रदान गर्न थालिएको हो।
दयानन्द बज्राचार्य

Email This email address is being protected from spambots. You need JavaScript enabled to view it.
nepali-patro-june

सन् १९६८ मा नोबेलको स्मृतिमा स्विडेनको केन्द्रीय बैंकले अर्थशास्त्रमा एक पुरस्कारको स्थापना गरेको थियो। यस पुरकारको आधिकारिक नाम हो – 'नोबेल मेमोरियल प्राइज इन इकोनोमिक साइन्स'। यस पुरस्कारको रकम नोबेलको नाममा स्थापना भएको अक्षयकोषबाट नभई स्विडेनको केन्द्रीय बैंकले उपलब्ध गराउँछ। त्यसैले सही अर्थमा अर्थशास्त्रतर्फ दिईने पुरस्कार 'नोबेल पुरस्कार' होइन। तथापि यस पुरस्कारको छनोट प्रक्रिया, व्यवस्थापन गर्ने संस्था, प्रदान गरिने मिति र पुरस्कारको रकमसमेत नोबेल पुरस्कार सरह हुने हँुदा यस पुरस्कारलाई पनि नोबेल पुरस्कार भन्ने चलन बसिसकेकोछ। यसरी हरेक वर्ष ६ विभिन्न विधामा नोबेल पुरस्कार प्रदान गरिन्छ। तीमध्ये शान्ति पुरस्कारका विजेताको छनौट र घोषणा नर्वेली संसद्ले गर्छ भने बाँकी ५ विधाका विजेताको छनौट र घोषणा स्विडेनका सम्बन्धित प्रतिष्ठानहरूले गर्छन्। पुरस्कार विजेताको नाम हरेक वर्षको अक्टोबर महिनामा घोषणा गरिन्छ र नोबेलको पुण्यतिथि डिसेम्बर १० मा स्टकहोममा आयोजना गरिने विशेष समारोहमा पुरस्कार  प्रदान गरिन्छ। पुरस्कार विजेतालाई नोबेलको चित्र अंकित पदक, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिन्छ। यस वर्षको नगदको रकम करिब १२ लाख अमेरिकी डलर रहेको छ।
 यो वर्ष एक महिलासहित १२ जनाले नोबेल पुरस्कार प्राप्त गरेका छन्। तीमध्ये ९ जना संयुक्त राज्य अमेरिकाका छन् भने बेलायत, बेल्जियम र क्यानाडाबाट एक एक जना परेका छन्। विज्ञानतर्फ नोबेल पुरस्कार पाउने आठमध्ये ६ जना वैज्ञानिकअमेरिकी नागरिक छन्। ती ६ जनामध्ये पनि ४ जना त विदेशी मूलका अमेरिकी नागरिक हुन्। यसबाट संयुक्त राज्य अमेरिका विज्ञानको क्षेत्रमा अग्रस्थानमा रहेको र विदेशका प्रतिभाशाली वैज्ञानिकलाई आकर्षित गर्न सफल रहेको पुष्टि हुन्छ। पुरस्कार विजेतामध्ये ८५ वर्षीय भौतिकशास्त्री पिटर हिग्स सबैभन्दा बढी उमेरका वैज्ञानिक हुन् भनेे ५७ वर्षीय जीव वैज्ञानिक थोमस जुइडहफ सबैभन्दा कम उमेरका छन्।
यस वर्षको क्रिया विज्ञान तथा चिकित्साशास्त्रतर्फको नोेबेल पुरस्कार तीन अमेरिकी वैज्ञानिक जेम्स रोथमान, राण्डी सेकमान र थेामस जुइडहोफलाई प्रदान गरिएको छ। जुइडहोफ जर्मनी मूलका अमेरिकी नागरिक हुन्। कोषभित्र र कोषबीच सम्पन्न हुने जैविक अणुको ओसारपसारको सही प्रक्रिया पत्ता लगाएबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो।
प्रोटिन, हरमोन, इन्जाइम तथा अन्य महत्वपूर्ण जैविक अणुहरू (मलेक्युलस) मानव कोषभित्र एक ठाउँबाट अर्को ठाँउमा ओसारप्रसार हुनेगर्छन्। त्यसैगरी जीवको एक कोषबाट अर्को कोषबीच पनि यस्ता जैविक अणुको ओसारपसार हुने गर्छ। जसरी बाटोमा हिडिरहेका मानिसलाई आफू जाने सही गन्तव्य स्थल थाहा हुन्छ र उनीहरू सही समयमा त्यहाँ पुग्न सफल हुन्छन्। त्यसैगरी जैविक अणुहरू पनि सही समयमा सही कोषभित्रका सही गन्तव्यमा पुग्ने गर्छन्। जसरी मानिस वा सामानको ओसारपसार गर्न विभिन्न प्रकारका सवारी साधनको प्रयोग गरिन्छ त्यसैगरी अणुको ओसारप्रसार गर्न वैज्ञानिक भाषामा 'भेसिकल्स' भनिने साबुन पानीको फोकाको आकार भएका अति सूक्ष्ण जैविक संरचनाको प्रयोग गरिन्छ।  यिनै 'भेसिकल्स'को माध्यमबाट कोषभित्र र कोषबीच जैविक अणुको ओसारप्रसार हुने गर्छ। यस अर्थमा यस्ता 'भेसिकल्स'लाई कोषभित्रका 'सवारी साधन'का रूपमा बुझ्न सकिन्छ।
हुलाकीले हुलाक सामग्रीलाई ठीक ठेगानामा लगेर सही मानिसलाई बुझाएजस्तै 'भेसिकल्स'ले पनि जैविक अणुलाई सही कोषभित्रको सही ठाउँमा लगेर छाडिदिन्छन्। कुन 'भेसिकल्स'ले कुन जैविक अणुलाई कुन कोषको कुन ठाउँमा कहिले पुर्‍याउने हो भन्ने निर्देशन स्नायु कोषबाट प्राप्त हुनेगर्छ। स्वस्थ कोषमा अणुको ओसारपसार प्रक्रिया पूर्ण सुनिश्चिताकासाथ सम्पन्न हुने र्गछ र कोषभित्र कुनै प्रकारको गडबडी सिर्जना हुन पाउँदैन। कोषभित्र र कोषबीच जैविक अणुको ओसारपसारमा गडबडी उत्पन्न भएमा मानिसमा छारे रोग (इपिलेप्सी), प्रतिरोधात्मक क्षमताको अभावसम्बन्धी रोग (इम्युन डिजिज), अल्जहाइमर, डाइबेटिकजस्ता कतिपय रोगहरू उत्पन्न हुन सक्छन्।  यस वर्षको चिकित्सा नोबल पुरस्कार विजेताको खोज नतिजाले आउँदा दिनमा यस्ता रोगको सफल उपचारमा मद्दत पुर्‍याउने विज्ञहरू बताउँछन्।
यस वर्षको भौतिकशास्त्रको नोबेल पुरस्कार बेलायतका भौतिकशास्त्री पिटर हिग्स र बेल्जियमका भौतिकशास्त्री फ्रांस्ववा इन्गलर्टलाई सयुक्तरूपमा प्रदान गरिएको छ। उनीहरूले सन् १९६४ मा पहिलोपल्ट पदार्थमा भार (मास)को उत्पत्तिसम्बन्धि सिद्धान्त अघिसारेका थिए। त्यसलाई 'हिग्स प्रक्रिया' भनिन्छ। उक्त सिद्धान्तअनुसार पदार्थमा भार उत्पन्न हुनुमा एक विशेष आधारभूत कणको महत्वपूर्ण भूमिका हुन्छ। उक्त काल्पनिक कणलाई हिग्सकै नाममा 'हिग्स बोसोन' नामाकरण गरिएको थियो । हिग्स बोसोनलाई चलनचल्तीमा 'गड पार्टिकल' (ईश्वरीय कण) पनि भन्ने गरिन्छ। अत्यन्त कम क्षणका लागि मात्र स्वतन्त्र अस्तित्वमा रहने भएकाले भौतिकशास्त्रीहरूले हिग्स बोसोनको अस्तित्व प्रमाणित गर्न विगत ५ दशकदेखि कोसिस गर्दै आए पनि सफल हुन सकेका थिएनन्।

हिग्स बोसोनको अस्तित्वबारे थुप्रै अप्रत्यक्ष प्रमाण फेला पार्न सफल भए पनि प्रत्यक्ष र अकाट्य प्रमाण फेला पार्न वैज्ञानिकहरू सफल भएका थिएनन्। त्यसैले हिग्स बोसोनको अस्तित्व धेरै वर्षसम्म एक काल्पनिक कणका रूपमा सीमित रह्यो। तर गत जुलाई ४, २०१२ मा स्विट्जरलान्डको जेनेभानजिकै रहेको युरोपियन अर्गनाइजेसन फर न्युक्लियर रिसर्च (सिइआरएन, सर्न)का वैज्ञानिकहरू उक्त हिग्स बोसोन पत्ता लगाउन सफल भएका थिए।  यसरी हिग्स र इंग्लर्टले करिब ५० वर्षअघि अघिसारेका भारको उत्पत्तिसम्बन्धि सिद्धान्त पहिलोपल्ट प्रमाणित भएको थियो। पिटर हिग्सलाई आफ्नै जीवनकालमा हिग्स बोसोन पत्ता लाग्ला भन्नेमा सन्देह थियो। तसर्थ हिग्स बोसोन पत्ता लाग्दा र नोबेल पुरस्कार पाउँदा पिटर हिग्स निकै खुसी भएको उनले बताएका थिए। सर्नको प्रयोगशालाका वैज्ञानिकले हिग्स बोसोन पत्ता लगाएपछि हिग्सले यसवर्ष भौतिकशास्त्रमा नोबेल पुरस्कार पाउने अनुमान धेरै विज्ञहरूले गरेका थिए।   उनीहरूको अनुमान सही साबित भएको छ। उक्त पुरस्कार हिग्स र इंग्लर्टका लागि मात्र नभई हिग्स बोसोन पत्ता लगाउने सर्न प्रयोगशालाका हजारौं वैज्ञानिकका लागि पनि खुसी र सन्तोषको कुरा भएको सर्न प्रयोगशालाका पदाधिकारीलेे बताएका छन्।
यस वर्षको रसायनशास्त्रको नोबेल पुरस्कार तीनजना अमेरिकी वैज्ञानिकलाई प्रदान गरिएको छ। ती हुन् – मार्टिन कारप्लस, माइकल लेविट र एरि वार्सल। तीनैजना विदेशी मूलका अमेरिकी नागरिक हुन्। कारप्लस अष्ट्रियामा जन्मेका हुन् भने लेविट र वार्सल क्रमशः दक्षिण अफ्रिका र इजरायलमा जन्मेका हुन्। ती वैज्ञानिकलाई जटिल प्रकारका रसायनिक प्रतिक्रियाको अध्ययन अनुसन्धानमा कम्प्युटर विज्ञानको सफल प्रयोग गरेवापट उक्त पुरस्कार प्रदान गरिएको हो।
सामान्यतया रसायनशास्त्रीहरू प्रयोगशाला र टेस्ट्युवको प्रयोग गरी रसायनिक प्रतिक्रियाको अध्ययन अनुसन्धान गर्ने गर्छन्। कारप्लस, लेविट र वार्सलले भने जटिल प्रकारका रसायनिक प्रतिक्रियाको परिक्षण गर्न प्रयोगशाला र टेस्ट्युव नभई कम्प्युटरको प्रयोग गरेका थिए। उनीहरूको खोज नतिजा अनुसार प्रयोगशालामा गरिने रसायनशास्त्रसम्बन्धी कतिपय जटिल प्रकृतिका प्रयोगहरू कम्प्युटरमा पनि सफलतापूर्वक परिक्षण गर्न सकिन्छ। कम्प्युटरमा गरिने यस्ता परिक्षणलाई वैज्ञानिक भाषामा 'सिमुलेसन' वा 'भर्च्युयल' प्रयोग भनिन्छ। 'भर्च्युयल' प्रयोगबाट प्राप्त खोज नतिजा प्रयोगशालामा गरिने कतिपय प्रयोगबाट प्राप्त खोज नतिजासंग ९० प्रतिशतसम्म मिलेको पाइन्छ।
विगतमा जटिल प्रकारका रसायनिक अणुको मोडेल तयार पार्न वैज्ञानिकहरू प्लास्टिकका बल र टुक्राको प्रयोग गर्थे। हिजोआज यस्ता मोडेल तयार पार्न कम्प्युटरको प्रयोग गर्ने गरिन्छ। कारप्लस, लेविट र वार्सलले रसायन प्रतिक्रियाको अध्ययन अनुसन्धान गर्न सन् १९७० देखि कम्प्युटरको प्रयोग गर्न थालेका हुन्। यसरी उनीहरूले रसायनशास्त्र र कम्प्युटर विज्ञानको सफल समायोजन गरेका थिए। सुरुका दिनमा उनीहरूका कामबाट कतिपय प्रतिष्ठित रसायनशास्त्री प्रभावित थिएनन् तर आज जटिल प्रकारका रासायनिक अणुको सूक्ष्ण संरचनाको अध्ययन अनुसन्धानमा कम्प्युटरको प्रयोग अपरिहार्य साबित भएको छ। हिजोआज नयाँ प्रकारको औषधी डिजाइन गर्नसमेत कम्प्युटरको प्रयोग हुने गरेको छ। यसको अर्थ रसायनशास्त्रको अध्ययन र अनुसन्धानका लागि प्रयोगशाला र टेस्ट्युवको सान्दर्भिकता र आवश्यकता समाप्त भएको भन्ने होइन। तर कारप्लस, लेविट र वार्सलले विकास गरेका कम्प्युटरमा गरिने 'भर्च्युयल' प्रयोगले रसायनशास्त्रीहरूको समय र साधनको भने ठूलो बचत गरेको छ।
यसवर्षको शान्ति नोबेल पुरस्कार अन्तर्राष्ट्रिय संस्था 'अर्गनाइजेसन फर द प्रोहिविसन अफ् केमिकल विपन्स'लाई प्रदान गरिएको छ। नेडरलान्डको हेग सहरस्थित उक्त संस्थ्ाा विश्वमा रासायनिक हतियारको प्रयोग निषेध र नष्ट गर्न सन् १९९७ मा स्थापित भएको हो। उक्त संस्थाले हालसम्म ५७ हजार टन रासायनिक हतियार नष्ट गरिसकेको छ। संयुक्त राष्ट्र संघको प्रस्तावअनुसार सिरियामा रासायनिक हतियार नष्ट गर्ने कार्यमा संंलग्न उक्त संस्था अहिले अन्तर्राष्ट्रिय चर्चामा छ।
अर्थशास्त्रतर्फको यस वर्ष नोबेल पुरस्कार 'सम्पत्तिको मूल्यको प्रयोगात्मक विश्लेषण' गरेबापत तीन अमेरिकी अर्थशास्त्री युजिन फामा, लार्स पिटर लार्सन र रबर्ट सिलरलाई प्रदान गरिएको छ। यसैगरी साहित्यतर्फको नोबेल पुरस्कार लघुकथा लेखनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकी क्यानाडाकी एलिस म्युन्रोले प्राप्त गरेकी छिन्।

प्रतिक्रिया