Tuesday 4 Mangshir, 2075 |
Menu

प्रविधि

republica-headerdiscount-subscribe1

istl

वाह ! सोसल मिडिया

(0 votes)
वाह ! सोसल मिडिया
वैशाख १२ गते मध्याह्न भूकम्प गएको अठारौं मिनेटमा पत्रकार गुणराज लुइँटेलले आफ्नो घर नजिकैको भग्नावशेष खिचेर ट्वीटरमा पोस्ट गरे । भूकम्पबारे सामाजिक सञ्जालमा देखिएको त्यो तस्बिर सम्भवतः पहिलो थियो, जसले निमेषमै संसारलाई नेपालको तहसनहसबारे जानकारी दियो।
nepali-patro-june

संसारभरका भूकम्पबारे अपडेट दिइरहने एप्स र सामाजिक सञ्जालका अकाउन्टले तारन्तार खबर दिन थाले । फोन नलागेर हैरान देश र विदेशका नेपाली ट्वीटर र फेसबुकमा आफन्त, साथीभाइ खोज्न थाले । एकैछिनमा ट्वीटरमा नेपालको भूकम्प ट्रेन्ड भयो । सामाजिक सञ्जाल र अनलाइन यसैका खबरले भरिए । सामाजिक सञ्जाल प्रयोगकर्ता हरेकले हरेकको खबर सोधे, बुझे र ढुक्क भए ।


Earthquake in Social Media2

बिहान ११ बजेर ५६ मिनेटमा गएको भूकम्पको एक घन्टा नबित्दै मोबाइलबाटै भए पनि भूकम्प प्रभावित क्षेत्रमा बसेकाहरूले आफ्नो खबर ट्वीटर र फेसबुकमा छरिसकेका थिए । कतिपयले आफू सकुशल रहेको जनाउ दिएका थिए भने कतिले चाहिँ आफू कुनै ठाउँमा अड्किएको वा रोकिएको भनेर खबर दिए । प्रधानमन्त्री सुशील कोइरालाले समेत आफ्नै मुलुकको भूकम्पबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटबाट थाहा पाए । यिनै सामाजिक सञ्जालको माध्यमबाटै विदेशमा रहेका आफन्तले प्रियजन सकुशल रहेको खबर पाए । गाउँ–सहरमा रहेका आफ्ना घरका तस्बिरले उनीहरूलाई ढुक्क बनायो ।

Earthquake in Social Media1
ठिक यही बेला सामाजिक सञ्जाल र एप्लिकेसनहरूले नयाँ विशेषता ल्याए । नेपालमा भूकम्प गएको केही घन्टा नबित्दै फेसबुकले 'सेफ्टी चेक फिचर' थप्यो । परिवार र साथीभाइलाई आफू ठिक भएको जानकारी गराउन सकिने यो विशेषताले धेरैलाई सजिलो बनाएको फेसबुकका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गले भनेका थिए । 'जब विपत् पर्छ, मानिसहरूलाई आफन्त सुरक्षित छन् भन्ने थाहा पाउनु जरुरी हुन्छ,' उनले यो विशेषताको बारेमा स्टाटस लेखे ।

गुगलले पनि हराएका मानिस भेटाउनका लागि 'गुगल पर्सन फाइन्डर' सार्वजनिक गर्‍यो । विपत्का बेला हराएका मानिसको सूचना दिन वा आफूले भेटाएका मानिसको सूचना दिने यो प्रविधि गुगलले यसपटक नेपालमा पनि प्रयोग गर्‍यो । इन्टरनेट पहुँच नभएकाले एसएमएस गरेर पनि जानकारी दिन सक्ने यो प्रविधिबाट भूकम्प गएको चार साता बित्दासम्म आठ हजार छ सयभन्दा धेरै जनाको बारेमा जानकारी संकलन भएको छ । त्यस्तै, 'इन्स्ट्यान्ट मेसेजिङ' तथा भीओआइपी सेवा दिने भाइबरले पनि विदेशमा रहेका व्यक्तिलाई नेपालमा र नेपालबाट बाहिर निःशुल्क कल गर्न सक्ने सुविधा दियो । त्यसबाहेक, विभिन्न 'क्राउडफन्डिङ' वेबसाइट र पेपलले पनि नेपालको भूकम्पलाई सहयोग गर्न भन्दै आफ्नो साइटकै होमपेजमा अनुरोध गरे । यसबाट पनि करोडौं रुपैयाँ संकलन भएको छ ।

उद्धार,राहत र पुनर्बास

Earthquake in Social Media4

फेसबुक, गुगल, भाइबर र यस्तै ठूला कम्पनी आफैंको अगुवाइमात्र होइन, यस्तै सञ्जाल प्रयोग गरेर नेपालीहरू उद्धार, राहत, पुनःस्र्थापना, स्वयंसेवा र अन्य सूचना प्रवाहमा खटिए । 'फलानो ठाउँमा यस्तो भएको छ' भन्ने सूचनादेखि 'फलानो ठाउँमा यति जनालाई यो सामान चाहिएको छ, कृपया यो नम्बरमा कल गर्नुहोला' भन्नेजस्ता फेसबुक स्टाटस र ट्वीटले सामाजिक सञ्जाल भरिए । मागमात्र होइन, 'मसँग यो सिप छ, म स्वयंसेवा गर्न चाहन्छु' वा 'म यो ठाउँमा छु, मसँग यो सामान छ, कहाँ आवश्यक छ' भन्नेजस्ता स्टाटस र ट्वीटले पनि सामाजिक सञ्जालमा पर्याप्त ठाउँ पाए ।

भूकम्प गएको भोलिपल्ट आइतबार बिहान नेपाल युवा संस्था सञ्जाल (आयोन) का अध्यक्ष ब्रबिमकुमार आफ्नो फेसबुकमा 'विपत्को समयमा उद्धार, राहत र आपतकालमा' सहयोग गर्नका लागि आफ्नो संस्थाको कार्यालयमा इच्छुक युवाहरूलाई बोलाए । केही साथीहरू भेला भएपछि कहाँ के आवश्यक छ भनी सामाजिक सञ्जालकै प्रयोग गरेर आवश्यकता जाँच गरे । 'तर त्यतिले पनि नभएपछि आफैं समस्या समाधानतिर लाग्यौं,' उनी भन्छन् । भूकम्प गएको २४ घन्टा नबित्दै उनको नेतृत्वमा युवाहरूको 'एक्ट फर क्वेक' भन्ने टोली बन्यो । अहिलेसम्म यो टोलीका एक हजारभन्दा धेरै युवा स्वयंसेवक देशका विभिन्न १४ वटा भूकम्प प्रभावित जिल्ला पुगेर राहत, पुनःस्थापनाका क्रियाकलापमा सहयोग गरिरहेका छन् ।

यो विपत्को समयमा सामाजिक सञ्जाल निकै शक्तिशाली र सक्रिय भएको ब्रबिमकुमारको अनुभव छ । 'सोसल मिडियाकै सूचनाको आधारमा चाहिएको स्थानमा सामान पु¥याउन सक्यौं र पीडितलाई सहयोग गर्न सक्यौं,' उनी भन्छन् । सामाजिक सञ्जालमा पर्याप्त सूचना आए पनि यस्ता सूचनाको विश्वसनीयताले भने समस्या खडा गरेको उनको अनुभव छ । सोसल मिडियामै लेखेको भरमा रुजु नगरी सहयोग पठाउँदा लुटपाटसमेत हुने गरेको उनले बताए । 'तर हामीले रुजु गरेर मात्र समस्या समाधानतिर लाग्यौं,' उनी दाबी गर्छन्, 'धेरैजसो मानिस पुग्न सक्ने ठाउँमा मात्र पनि पुगे तर हामी ९० प्रतिशत कोही नपुगेको ठाउँमा पुग्यौं ।'

राहत पु¥याउनमात्र नभई सूचना प्रवाहमा पनि सामाजिक सञ्जालले निकै सहयोग गरेको उनको अनुभव छ । यसको माध्यमबाट छोटो समयमै सूचना सजिलै प्रवाह गर्न सकिएकाले धेरै युवालाई परिचालन गर्न सहयोगी भएको ब्रबिमकुमार बताउँछन् । 'सोसल मिडिया नभएको भए यति चाँडै र चुस्त रूपमा सूचनाको प्रवाह हुँदैनथ्यो,' उनी थप्छन्, 'धेरैको समस्या समाधान गर्न सोसल मिडिया अपरिहार्य साबित भयो ।'

यस्ता संगठित भएर वा व्यक्तिगत प्रयासमा अनलाइन मिडियाको प्रयोग गरेर स्वयंसेवा, राहत संकलन, वितरण र अन्य सहयोगी क्रियाकलापमा थुप्रै तन्नेरी लागेका छन् । ट्वीटर प्रयोग गर्ने नेपालीहरूको अनौपचारिक समूह 'ट्वीट फर कज नेपाल'ले केही वर्षदेखि नै स्वेच्छिक रूपमा थोरैे रकम उठाउँदै विभिन्न मिसन सञ्चालन गर्दै आएको छ । सामाजिक सञ्जाल ट्वीटरबाट एक–अर्कामा परिचित भएका देशका विभिन्न स्थान र विदेशमा बस्ने ट्वीटेहरूले यो विपत्को बेला केही रकम संकलन गरेर भूकम्प प्रभावित सात जिल्लाका नौ सयभन्दा धेरै परिवारलाई त्रिपाल, खाद्यान्न लगायतका विभिन्न राहत सामग्री वितरण गरे । राजधानीमा बस्ने ट्वीटेहरूले राहत वितरणको संयोजन गरे भने राजधानीबाहिर बस्नेले सामान पठाउन सहजीकरण गरे । विदेशमा रहेकाहरूले विभिन्न माध्यमबाट नगद सहयोग गरे ।

भूकम्प प्रभावित क्षेत्रहरूमा राहत सामग्री वितरण गर्नका लागि राजधानीमा सामान अभाव भएपछि नेपालगन्जबाट पाल, नवलपरासीबाट चिउरा लगायतका सामग्री वितरण गरेको राहत वितरणमा सहजीकरण गरिरहेका ट्वीटर प्रयोगकर्ताहरू बताउँछन् । 'बारम्बार दौडधुप गरिरहने केही साथीहरू आफैं भूकम्पपीडित भएपछि काम गर्न अलिकति गाह्रो भयो,' सहजीकरण टोलीका सदस्यहरू भन्छन्, 'विदेशबाट सहयोग संकलन गर्नमात्र होइन, प्रभावित गाउँसम्म पनि पुग्न उत्तिकै चुनौतीपूर्ण थियो ।' अब आफूहरूले अन्य जिल्लाका प्रभावित र भूकम्पपीडित भएका अनाथाश्रमलाई पनि सहयोग गर्ने योजना बनाएको उनीहरू बताउँछन् ।

भूकम्प गएको एक महिना बित्नै लाग्दा सामाजिक सञ्जाल प्रयोगकर्ताहरू अब बिस्तारै पुनर्बासतिर लाग्दै छन् । घर भत्केर पालमुनि बसेकाहरूलाई वर्षा याम आउनुअघि नै आवासको व्यवस्था गर्न लागिपरेका छन् । यसका लागि विशेषज्ञसहित नगद पनि सामाजिक सञ्जालबाटै संकलन गरिरहेका छन् ।

-यापिड रेस्पोन्स टिम

भूकम्पको धक्काले क्षति नपुगेको पूर्वी नेपालको सहर विराटनगरमा रहेर केही युवाले भूकम्प गएको दुई घन्टामै काम शुरु गरे । पहिलेदेखि नै अस्पतालहरूमा रगत सहज गराउन काम गरिरहेका युथ फर ब्लड समूहका सदस्यहरू भूकम्प जानासाथ विभिन्न अस्पतालमा रगतको आवश्यकता भए नभएको बुझ्न थाले । रगतको तत्काल अभाव नदेखिएपछि उनीहरूले सूचना प्रवाहका लागि '¥यापिड रेस्पोन्स टिम' बनाए । उनीहरूले भूकम्प प्रभावित क्षेत्र, त्यहाँ आवश्यक वस्तु र सेवाबारे सामाजिक सञ्जालमार्फत जानकारी गराउन थाले । उनीहरूसँग विभिन्न मानिस सामाजिक सञ्जालकै माध्यमबाट जोडिन आए । लगत्तै 'ट्रेमर नेपाल डटकम' नामक वेबसाइट सुचारु गरे ।

टोलीको नेतृत्व गरेका सरोज कार्की आफूहरू सूचना पु¥याउनका लागि चौबीसै घन्टा काम गरेको बताउँछन् । तत्काल उपलब्ध केही साथीहरूबाट थालिएको यो टोलीमा अहिलेसम्म चार सयभन्दा धेरै आबद्ध भएको उनी बताउँछन् । 'हामीले जुनसुकै प्रकारको काम ग¥यौं । नेपालबाहिर रहनुभएकाले धेरैले मेरो घरको नम्बर यो हो, खबर बुझिदिनुहोस् भनेर आग्रह गरे,' उनी थप्छन्, 'हामीले उनीहरूले दिएको नम्बरमा फोन गरेर खबर पु¥याइदियौं ।' यो विपत्को बेला फेसबुक, ट्वीटर, युट्युब, स्काइप सबै वरदान साबित भएको उनी बताउँछन् ।

आफूहरू वर्षौदेखि 'युथ फर ब्लड' अभियान सञ्चालन गरिरहेकाले विपत्मा रगतको अभाव नहोस् भन्ने आफूहरूको पहिलो प्राथमिकतामा परेको कार्की बताउँछन् । 'आवश्यक भएमा हामी १० हजार युनिटसम्म रगत उपलब्ध गराउन सक्छौं,' आफ्नो सञ्जालबारे उनी भन्छन् । रगतको अभाव नभएको थाहा भएपछि आफूहरू ¥यापिड रेस्पोन्स टिमको माध्यमबाट राहत कहाँ कति के पुगेको छ, कहाँ के आवश्यक छ भन्ने सूचना प्रवाहमा लागेको बताउँछन् । भूकम्पको त्रासमा रहेका मानिसहरूलाई सकारात्मक सूचना प्रवाह गर्न पनि आफूहरूले सोसल मिडियाको प्रयोग गरिरहेको उनको अनुभव छ । उनीहरूले ट्रमा व्यवस्थापनका लागि पनि भिडियो बनाएर युट्युबमा राखिसकेका छन् ।

सरकार र सुरक्षा निकाय

अन्य समयमा ढिलो 'रेस्पोन्स' गर्ने भनेर चिनिने सरकारी निकाय पनि भूकम्पपछि ट्वीटरमा आयो । नेपाल सरकार गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले 'एनइओसीअफिसियल' नामक ट्वीटर अकाउन्टमार्फत क्षतिको विवरण र अन्य सान्दर्भिक जानकारीहरू प्रदान गरिरहेको छ । यसले गर्दा सर्वसाधारणमात्र होइन, सञ्चारकर्मीलाई समेत आवश्यक जानकारी प्राप्त गर्न सहज भएको छ । यो अकाउन्टलाई अहिलेसम्म सात हजार पाँच सयभन्दा धेरैले पछ्याइसकेका छन् ।

त्यस्तै, प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले पनि भूकम्पसँगै आफ्नो ट्वीटर अकाउन्ट सुरु ग¥यो । करिब पाँच हजार जनाले पछ्याएको यो अकाउन्टबाट कोषमा रकम कसरी जम्मा गर्नेदेखि अन्य विभिन्न जानकारी फलोअरहरूले प्राप्त गरिरहेका छन् ।

भूकम्पपछि नेपाल प्रहरीले खोलेको ट्वीटर अकाउन्टले भने सबैभन्दा धेरै प्रशंसा बटुलेको छ । करिब साढे एक वर्षअघि फेसबुक पेज खोलेर विभिन्न जानकारी सार्वजनिक गर्दै आएको नेपाल प्रहरीले भूकम्प गएको २४ घन्टा नबित्दै ट्वीटर खाता खोलेको थियो । १५ हजारभन्दा धेरैले पछ्याएको 'नेपालपुलिसएचक्यु' नामक अकाउन्टले चौबीसै घन्टा सक्रियताका साथ सूचना प्रवाह गरिरहेको मात्र छैन, प्रयोगकर्तासँग अन्तरक्रिया पनि गरिरहेको छ । जोसुकैले 'डाइरेक्ट म्यासेज' गरेर कुनै सूचना वा जानकारी सिधै प्रहरीलाई गोप्य रूपमा दिन सक्ने सुविधा हुनाले पनि यसले नागरिक र प्रहरीलाई निकट बनाउन सकेको प्रयोगकर्ताहरू बताउँछन् ।

नेपाल प्रहरीको सञ्चार निर्देशनालयमा बसेर १० जना प्रहरीले ट्वीटर, फेसबुक र एसएमएस चलाउँछन् । सार्वजनिक जानकारीका लागि नेपाल प्रहरी ट्वीटरमा सक्रिय भएर लागेको प्रहरी अधिकारीहरूको भनाइ छ । वैशाख १२ गतेको भूकम्पपछि विभिन्न खालका सूचना संकलनका प्रहरीले 'क्राउडसोर्सिङ' सुरु ग¥यो । निर्देशनालयका एसएसपी राजीव सुब्बाले सामाजिक सञ्जालमार्फत सूचना र जानकारी पु¥याउने काममा नेतृत्व लिए । अमेरिकाबाट विद्यावारिधि गरेका उनले हाइटीमा गएको भूकम्पपछि सञ्चारको अवस्थाबारे अध्ययन गरेका थिए । यसबाट राहत र उद्धारको आवश्यकताबारे जानकारी संकलनमात्र नभई सम्भावित कालोबजारी र ठगीबाट जोगाउन पनि सहयोग पुगेको सुब्बा बताउँछन् । 'नेपाल प्रहरीले ट्वीटरबाट प्राप्त गरेको सूचनाको आधारमा धेरै भाडा लिने सवारी साधन, महँगोमा पाल बेच्ने व्यापारी लगायतलाई कारबाही पनि गरेको छ,' नेपाल प्रहरीको तर्फबाट ट्वीट गर्ने उनी भन्छन् ।

नेपाल प्रहरीले केहीअघिदेखि नै फेसबुक प्रयोग गर्दै आएको भए पनि ट्वीटर प्रभावकारी भएको सुब्बाको अनुभव छ । फेसबुकमा लामो लेख्न सकिने तर ट्वीटरमा १४० क्यारेक्टरमा कुरा राख्नुपर्ने भएकाले छरितो रूपमा सूचना प्राप्त गर्न सहज भएको उनी बताउँछन् । 'उद्धारको काम के भयो, राहत वितरण कहाँ कसरी भयो भन्ने कुरा छोटकरीमा बताउन यो प्रभावकारी छ,' उनी भन्छन् । यसकै माध्यमबाट प्राप्त सूचनाको आधारमा प्रहरी आवश्यक परेको ठाउँमा प्रहरी परिचालन गर्नमात्र नभई जीवित उद्धार गर्न पनि सम्भव भएको उनको अनुभव छ । 'ट्वीटरमा आएको मेन्सनका आधारमा धेरै काम गर्न सकेका छौं,' उनी थप्छन्, 'सामाजिक सञ्जाल भरपर्दो छ । मानिसहरूमाझ सक्रिय रूपमा सूचना प्रवाह गरिरहेका छौं ।' नेपाल प्रहरीले विपत्को बेलामा प्रयोग गरेका सामाजिक सञ्जालबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले समेत प्रशंसा गरेका छन् ।

उद्धार कार्यमा निकै सक्रिय सशस्त्र प्रहरीले पनि सूचना प्रवाहका लागि सामाजिक सञ्जालको प्रयोग गरेको छ । उद्धारका तस्बिर र भिडियो सर्वसाधारणलाई फेसबुक र ट्वीटरमार्फत उपलब्ध गराएर वाहवाही बटुलेको सशस्त्रले पनि आफूलाई सामाजिक सञ्जालमार्फत जानकारीमा आएका उजुरीमा कारबाही गरेको छ । त्यस्तै, 'संकट मोचन' रिलिफ अपरेसन सञ्चालन गरिरहेको नेपाली सेनाले पनि सामाजिक सञ्जालमार्फत आफ्ना गतिविधिहरू प्रयोगकर्तामाझ पु¥याइरहेको छ ।

सरकार र सुरक्षा निकाय यसरी सामाजिक सञ्जालमा आउनुले राज्य र नागरिकबीचको सम्बन्ध मजबुत पार्न सकेको सोसल मिडिया विश्लेषण गर्ने दि ओपिनियोका प्रमुख कार्यकारी अधिकृत चन्दन गुप्ता बताउँछन् । यसले सूचनाको द्रुत प्रवाहका साथै राज्यलाई पारदर्शी बनाउन सफल भएको उनको विश्लेषण छ । 'यो विपत्को समयमा सोसल मिडिया साँच्चिकै उपलब्धिमूलक देखिएको छ । सूचना प्रवाह चाँडो भएको छ र कहाँ के आवश्यक छ भन्ने कुरा थाहा भएको छ,' उनी भन्छन् । भूकम्पपछि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा बसेर केही समय स्वयंसेवा गरेका गुप्ता हामी फेरि सामान्य बन्न सक्छौं भनेर सन्देश दिनका लागि पनि सामाजिक सञ्जाल प्रभावकारी हुन सकेको बताउँछन् । त्यस्तै एनसेलले प्रदान गर्दै आएको निःशुल्क ट्वीटर सेवाले पनि नेपाली ट्वीटर प्रयोगकर्ता ह्वात्तै बढेको उनको अनुभव छ ।

अफवाह पनि

भूकम्पपछि सामाजिक सञ्जालको प्रयोग राहत, उद्धार र सकारात्मक सूचना प्रवाहमा मात्र भएन । केही व्यक्तिले अफवाह फैलाउनका लागि पनि सामाजिक सञ्जालको प्रयोग गरे । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको हवाला दिँदै विभिन्न समयमा ठूलो भूकम्प आउँछ भनी हल्ला फिजाउने केहीलाई प्रहरीले पक्राउ ग¥यो । त्यस्तै, प्रहरीले सामाजिक सञ्जालमा त्रास उत्पन्न गराउने खालका स्टाटस र ट्वीट गर्ने ज्योतिषसहितका केही प्रयोगकर्तालाई सो स्टाटस र ट्वीट मेटाउन आदेश दिँदै कारबाहीसमेत गरेको छ ।

ह्यासट्यागको प्रयोग

भूकम्पबारे सूचना तथा जानकारी दिन, राहत संकलनमा जुट्न विभिन्न ट्वीटर ह्यान्डल र ह्यासट्यागले काम गरे । वैशाख १२ देखि शुक्रबारसम्म चार साताको अवधिमा सबैभन्दा धेरै ट्वीट 'नेपाल अर्थक्वेक' ह्यासट्याग प्रयोग गरेर भए । यो अवधिमा यो ह्यासट्यागको प्रयोग गरी १२ लाखभन्दा धेरै ट्वीट गरिए । त्यसबाहेक, 'प्रे फर नेपाल', 'नेपालक्वेक', 'गो होम इन्डियन मिडिया' ह्यासट्याग भएका ट्वीट पनि एक लाखभन्दा धेरैपटक गरिए । अन्य धेरै प्रयोग गरिएका ह्यासट्यागमा 'सरी नेपाल', 'हेल्प नेपाल', 'वी विल राइज अगेन' रहे । सामाजिक सञ्जालको विश्लेषण गर्ने दि ओपिनियोका अनुसार, राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्र, नेपाल प्रहरी, सशस्त्र प्रही, नेपाली सेना, भूकम्प उद्धार पोर्टल, उद्योग वाणिज्य संघको राहत टोली, विवेकशील नेपाली लगायतका ट्वीटर ह्यान्डलहरूले निरन्तर रूपमा भूकम्पबारे सूचना प्रवाह गरेका थिए । त्यस्तै वी विल राइज अगेन, प्रे फर नेपाल ह्यासट्याग प्रयोग गरिएको ट्वीटले पनि ट्वीटर भरिएको छ ।

भारतीय प्रमदेखि सेलिब्रिटीका ट्वीट

नेपालमा भूकम्प गएपछि संसारभरका सेलिब्रेटीहरूले पनि नेपालीहरूबारे आफूले सोचिरहेको भन्दै सहयोग गर्न अनुरोधसहित ट्वीट गरे । बलिउड अभिनेता शाहरुख खानले अल्लाहसँग प्रार्थना गर्दै नेपालको आकस्मिक नम्बरहरू ट्वीट गरेर सहयोगका लागि अनुरोध गरे । त्यस्तै, युनिसेफका सद्भावना दूतसमेत रहेका आमिर खानले नेपालमा भूकम्पका कारण मृत्यु हुनेको संख्या बढ्दै गरेकोमा आफ्नो मुटु चिरिएको भन्दै सहयोगका लागि अनुरोध गरे । अमिताभ बच्चनले नेपालको सम्झनामा लामो ब्लग लेखे भने अन्य धेरै कलाकारले पनि नेपाललाई सहयोग गर्न अनुरोध गरेका थिए ।

प्रतिक्रिया