Error
  • Error loading feed data.

राजनैतिक नाट्यगिरी की बैज्ञानिक अनुसन्धान?

smaller text tool iconmedium text tool iconlarger text tool icon
सन् १९६४ तिर भारतमा खाद्यान्न उत्पादन निकै घटेकोले भोकमरीले धेरै मान्छेहरु मर्न लागे। जवहरलाल नेहरुको मृत्यपछि प्रधानमन्त्री भएका लालबहादुर शास्त्रीले खाद्यान्न जोगाउन भनि आफूले वुधबारे एकछाक खान नखाने भनेर उदघोष गरे। भनिन्छ, त्यतिखेरको भारतीय पत्रिकाहरुमा "याद गर्नोस् आज खाना नखाने दिन हो" भनेर ठूला ठूला विज्ञापन सरकारी खर्चमा छापिन्थ्यो। उनको त्यो कामलाई हिजोआजका लेखकहरु राजनितिक नाट्यगिरीको उर्त्कष ठान्छन्। तर लालबहादुर शास्त्री तिनै मान्छे थिए जसले पपुलिष्ट छाक छोड्ने काम मात्रै गरेनन्, खाद्य उत्पादन बढाउनको लागि थालिएको हरितक्रान्तिलाई पनि अगाडि बढाए। सन् १९६५ मा उनकै पालामा रकफेलर फाउण्डेसनको सहयोगमा शुरु गरिएको हरितक्रान्तिले भारतमा भोकमरीको समस्या समाधान मात्रै गरेन त्यसको केही समयपछि भारत खाद्यान्न निर्यात गर्ने राष्ट्र पनि बन्न सफल भयो।

अल्पविकशित देशका प्रायः नेताहरु समस्याको समाधानतिर भन्दा राजनैतिक नाट्यगिरीलाई बढी महत्व दिन्छन्। उनीहरु शास्त्रीको छाक छोडेर विज्ञापन छाप्दै लोकप्रिय हुने काम गर्न खोज्छन् तर हरितक्रान्ति जस्ता समाधानमूलक कार्यक्रम ल्याउन ध्यान दिदैनन्। हामी कहाँ त्यो समस्या झनै बढी छ। केही समय पहिले जलवायु परिवर्तनको पक्षमा विश्वको ध्यान आकृष्ट गर्न भनि मन्त्रिमण्डलको बैठक सगरमाथाको कालापत्थरमा राखियो। प्रधानमन्त्री कोपेनहेगन जलवायु सम्मेलनमा तीन दर्जनको सरकारी डफ्फा लिएर गए। जबकी त्यस सम्मेलन उपलब्धिविहीन हुने कुरा नेपालका लगायत विश्वका सञ्चारमाध्यामहरुमा आइसकेको थियो। भनिन्छ उक्त जलवायु सम्मेलनमा जानको लागि करिब ७०० जनाले भिसा पाएका थिए। एक अनुमान अनुसार, नेपालीहरुले उक्त सम्मेलनमा करिब दश करोड रुपैयाँ खर्च गरे। जलवायु सम्मेलनमा साहित्यकारदेखि दोहरी गायिकासम्मको प्रतिनिधित्व थियो तर सम्बन्धित विषय विज्ञको अभावमा विभिन्न मिटिंगहरुमा नेपालले आफ्नो धारणाहरु स्पष्टसँग राख्न नसकेको कुराहरु संचार माध्यामहरुमा आयो। प्रधानमन्त्री स्वयंले हामीकहाँ जलवायु परिवर्तनको बारेमा प्रयाप्त अध्ययन र अनुसन्धान नभएको र सम्वन्धित विज्ञहरुको अभाव भएको कुरा स्वीकारे।

त्यस्तै किसिमको दृष्य देखियो गत साता चितवन राष्ट्रिय निकुन्जमा पनि। प्रधानमन्त्री सहित विभिन्न मन्त्रीहरु माइकेलिया म्यक्रान्था भन्ने मिचाहा प्रकृतिको झार उखेल्न गए। उनीहरुले ठ्ट्टा गर्दै केही लहराहरु तानेको दृष्य संचार माध्यामहरुमा देखियो। तर त्यो सँगैको समाचारमा त्यो मिचाहा प्रकृतिको झार त्यसरी हातले उखेलेर निर्मुल हुँदैन भन्ने विज्ञको भनाई छापियो। प्रधानमन्त्री स्वंयले स्वीकार गरे, यस्ता मिचाह प्रकृतिका झार र त्यसले पार्ने असरको बारेमा हामी कहाँ बैज्ञानिक अध्ययन, अनुसन्धानको कमि छ।

हामी कहाँ जलवायु परिवर्तन, मिचाह प्रकृतिको झारको अतिक्रमण लगायतका थुप्रै वातावरणीय समस्याहरु छन्। तर हामीसँग ती समस्याहरुसँग जुध्नको लागि स्रोत, साधन र विज्ञताको पनि कमि छ। एकातिर हाम्रा अनुसन्धानशालाका अन्वेषकहरु, हाम्रा विश्वविद्यालयका प्राध्यापक र विद्यार्थीहरु स्रोत र साधनको अभावमा घाम तापेर दिन विताइरहेका छन् भने अर्कोतिर सम्मेलनमा भाग लिने नाममा करोडौं र झार उखेल्ने नाममा लाखौं खर्च भइरहेको छ। यस्ता राजनैतिक नाट्गगिरीले फगत चर्चा बटुल्छ तर समस्या समाधान गर्दैन। भएको सीमित पैसा हाम्रा अनुसन्धानशालाहरुलाई सुविधा सम्पन्न बनाउने, विश्वविद्यालयमा अनुसन्धानका नयाँ कार्यक्रम थप्न र वौद्धिक जनशक्तिलाई अनुसन्धान मुलक रोजगारीको अवसर सिर्जना गर्न तिर खर्च गरिदैन। अनि भनिन्छ, हामी कहाँ विज्ञता छैन, यस विषयमा अध्ययन, अनुसन्धान भएको छैन। वैज्ञानिक अनुसन्धानमा खर्चनु पर्ने रकमहरु नाट्यगिरीमा खर्चेपछि कसरी हुन्छ अनुसन्धान? कसरी उत्पादन हुन्छन् विज्ञहरु?

प्रधानमन्त्रीले जलवायु सम्मेलनमा भागलिन सघाउने सहयोगदाताहरुलाई भन्न सक्नु पर्दथ्यो। हेर्नुस् हामीकहाँ यस विषयमा वैज्ञानिक विषयमा अध्ययन, अनुसन्धानको कमि छ। हामी सरकारी तवरबाट यसको अध्ययन, अनुसन्धानको लागि एउटा कोष खडा गर्दछौं। मिटिगं सम्मेलन, भोज भत्तेर आदी गर्न दिइने सहयोग रकम त्यो कोषमा जम्मा गरौं। हामी उक्त रकमले आजैदेखि जलवायु परिवर्तन लगायत वातावरणिय समस्या समाधानको लागि बैज्ञानिक अनुसन्धानको काम थाल्छौं। विज्ञहरु उत्पादनमा जोड दिन्छौं। यदि त्यसो भइदिएको भए साच्चै समाधानको दिशा तर्फ पाइला मोडिन्थ्यो। त्यसले केहि हदसम्म नेपालमा मार्स्टस, पिएचडी सकाएर अवसरको अभावमा विदेशिन तयार युवाहरुलाई देशभित्रै केहि अनुसन्धानमुलक रोजगारीको अवस्था सिर्जना गर्न सक्थ्यो। विदेशीयकाहरुलाई देशभित्र अवसरको आशा देखाउन सक्थ्यो। तर त्यस्तो कुराहरु गरिएको वा भएको सुन्नमा आएको छैन्। हाम्रा नेताहरु समस्या समाधान भन्दा फगत सस्तो राजनैतिक नाट्यगिरीमा मस्त छन्।

भारतको राजनितीमा मात्रै दुई वर्षको छोटो समय प्रधानमन्त्री भएका शास्त्रीको एक छाक छोड्ने कामलाई केहि लेखकहरुले हाँसोमा उडाएपनि उनको हरितक्रान्ति अगाडि बढाउने दीर्घकालीन सोचलाई उदाहरणको रुपमा लिइन्छ संसारभरि। तर राजनैतिक नाट्यगिरी गर्न मस्त नेपालका नेताहरुलाई भोलिका दिनमा कसरी हेरिएला? कामना गर्छु, भोलि यस्तो नलेखियोस् "हाम्रा प्रधानमन्त्री उखेलेर निर्मुलै नहुने मिचाहा झार उखेल्न लाखौं खर्चेर निकुन्जमा वास बस्न गएका थिए।"
(लेखक अमेरिकामा विद्यावारिधी गर्दैछन्।)

प्रतिक्रियाहरू (0)Add Comment
प्रतिक्रिया लेख्नुस्
 
  संकुचित | विस्तृत
 

busy
WebNagarikNews.com
nagarik-news print edition epaper
CSW


From Republica

new-traveld